द्विपक्षीय वार्तामा विभिन्न सम्झौताहरूमा हस्ताक्षर हुने

२६ आश्विन २०७६, आईतवार १०:११

काठमाडौं , चिनियाँ राष्ट्रपति सी चिनफिङले आइतबार पनि नेपालका विभिन्न व्यक्तित्वसँगको भेटघाटलाई निरन्तरता दिने हुनु भएको छ ।
उहाँले शनिबार नेपाली समकक्षी विद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग भेटवार्ता गरिसक्नु भएको छ । आज भने उहाँको नेकपा नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम छ ।

नेकपा स्रोतका अनुसार सो पार्टीका सचिवालय सदस्यहरूले संयुक्त रूपमा सीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा हुने यो भेटवार्ता बिहान १०ः३० बजेका लागि तय भएको छ । लगतै दाहालले सीसँग छुट्टै भेट गर्ने स्रोतले जनाएको छ ।

नेकपा नेतासँगको भेटपछि सीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्नुहुनेछ । सी र ओलीको भेटवार्तापछि द्विपक्षीय वार्ता हुने कार्यतालिका रहेको छ । द्विपक्षीय वार्तामा विभिन्न सम्झौताहरूमा हस्ताक्षर हुनेछ । यो क्रम करिब १ घण्टासम्म चल्ने बताइएको छ ।

दुईदिने राजकीय भ्रमण सम्पन्न गरी राष्ट्रपति सी आज दिउँसो १ बजे स्वदेश प्रस्थान गर्ने कार्यक्रम छ ।