चितवनमा बस दुर्घटना, ३८ जना घाइते, बस चालक प्रहरीको नियन्त्रणमा

२२ आश्विन २०७६, बुधबार ११:२०

चितवन , चितवनमा बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । काठमाण्डौबाट मंगलबार राति सर्लाहीको मलङ्गावातर्फ जाँदै गरेको ना ५ ख ५३४४ नम्बरको रात्रिबस भरतपुर महानगरपालिका–१२, आस्था चोकमा साढे बाह्र बजे दुर्घटना हुँदा ३८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा चालक पनि सामान्य घाइते भएका छन् । बसमा करिब ४५ , ४६ जना रहेको बताइएको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बस आफैँ अनियन्त्रित भएर सडक छेउको पीपलको रुखमा ठक्कर खाएपछि दुर्घटना भएको बताइएको छ ।

घाइतेहरुको पुरानो मेडिकल कलेज र भरतपुरको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये २७ को अवस्था मध्यम रहेको छ । यस्तै १० जना सामान्य रहेको प्रहरीले जनाएको छ ।