दशैंमा देशभरि कतैपनि मासुको अभाव नहुने मन्त्री खनालको दावी

१३ आश्विन २०७६, सोमबार १७:१५

काठमाडौं , कृषि तथा पशुपछी विकासमन्त्री चक्रपाणिखनालले दशैंमा मासुको कुनै अभाव नहुने बताउनु भएको छ । सोमबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री खनालले दशैंमा देशभरि कतैपनि मासुको अभाव नहुने बताउनु भएको हो ।
उहाँले भन्नु भयो,‘ काठमाडौं उपत्यकामा मात्रै ५५ हजार खसी बोका आवश्यकता हो, ४० हजार खसीबोका आउने भैसके । अब हामीलाई पर्याप्त हुन्छ । मासुको कुनै अभाव हुँदैन ।’ दशैं सुरु भएकोले सरकारले बजारमा अनुगमन बढाएको पनि उहाँले बताउनु भयो ।

चाडपर्व सुरु भएसँगै आपुर्तिमा असहजता भएको, व्यापारीको मनोमानी बढेको भन्ने गुनासो आएकोले कृषि मन्त्रालय र आपुर्ति मन्त्रालयले संयुक्त अनुगमन सुरु गरेको पनि उहाँको भनाई छ ।
काठमाडौंमा खसीको मासुको मुल्य अस्वभाविक रुपमा वृद्धि गरिएको भनेर गुनासो सुनिएकोले सरकारले खसीको मासुको मुल्यवृद्धिबारे नियमन गरिरहेको छ ।

आफूहरुले बजार अनुगमनको कामलाई तिव्रताका साथ अघि बढाईएको सुनाउँदै केही मिठाई पसलले गुणस्तरहीन सामान बेच्ने गरेकोले गुणस्तरीयता कायम गर्न कडा निर्देशन दिएको पनि खनालले स्पष्ट पार्नु भयो ।