
मलाई अवरोध गर्नकै लागि बाटोमा ठाउँ– ठाउँमा रुख काटेर ढालिएको रहेछ । ढालिएका रुखहरु पन्छाउँदै हामी कार्यक्रमस्थलतर्फ गइरहेका थियौं । रिसिङ गाउँपालिकाको भवन शिलान्यास गर्ने कार्यक्रम तय भएको थियो । उक्त गाउँपालिका प्रवेश गर्नेबित्तिकै करिब डेढसय मानिस जम्मा भएर बसेको देखेँ । उनीहरुको हातमा बियरको बोतल, ढुँगा र काठका चिर्पटहरु थिए । हामीलाई देख्नासाथ उनीहरुले बियरका बोतल र ढुँगा हामीतिर बर्साए । लाठी, भाला, हतियार बोकेर आएका रहेछन् ।
तीनघण्टासम्म त्यहाँ उनीहरुले बियरको बोतल र ढुँगा हानिरहे । हामी पनि पछि हटेनौं, उभिइरह्यौं । त्यहीबीचमा हाम्रा अरु साथीहरु पनि आइपुग्नुभयो । ४–५ ठाउँमा रुख ढालेर, बाटोमा ढुंगा राखेर अवरोध सिर्जना गरेका थिए । हतियार, ढुंगा, लाठीसहित आक्रमण गरे । साथीहरुले जोगाउनुभयो, बचियो । त्यो गाउँपालिकामा शतप्रतिशत कांग्रेसले चुनाव जितेको हो । हाम्रा अरु साथीहरुले हामीमाथि आक्रमण भएको थाहा पाएर आइपुग्नुभयो । त्यसपछि उनीहरुको केही नलाग्ने भएपछि तितरवितर भए । अनि हामी अघि बढ्यौं । भवन शिलान्यास कार्यक्रम सकेर फर्कियौं ।
प्रहरी प्रशासनको आडमा उनीहरु आक्रमणमा उत्रिएका हुन् भन्ने मलाई लागेको छ । किनकि त्यहाँ पुलिस प्रशासनले नै सत्तारुढ दलका कार्यकर्तालाई आड दिइरहेको हामीले पायौं ।
हामीले संविधान जोगाउने हो । लोकतन्त्र जोगाउने हो । त्यसका लागि हामी जेसुकै प्रतिवाद गर्न तयार छौं । कांग्रेस यस्ता आतंकबाट अत्तालिँदैन । झन् सशक्त प्रतिवाद गर्छ ।
संविधान र लोकतन्त्रमाथि कसैबाट खतरा छ भने यही सरकारबाट छ । सरकार काम गर्न नसकेर आत्तिएको छ । अत्तालिएको छ । हतास मनस्थितिबाट विपक्षीमाथि आक्रमण गरिएको छ । कुराकानीमा आधारित
