केपी ओली नेतृत्वको वर्तमान सरकार नेपालको इतिहासमै सबैभन्दा असफलः देउवा

११ आश्विन २०७६, शनिबार १२:४९

काठमाण्डौ , प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको वर्तमान सरकार नेपालको इतिहासमै सबैभन्दा असफल सावित भइसकेको दाबी गर्नु भएको छ ।

सभापति देउवाले व्यापारीहरुलाई आजित बनाउने गरी कर बढाएको, नागरिकलाई दशैँमा सामान किनमेल गर्न समेत नसक्ने गरी महँगी बढाउने काम सरकारले गरेको भन्दै आक्रोश पनि व्यक्त गर्नुभयो ।

बडादशैँको अवसर पारेर पार्टीले शनिबार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले जनता, उद्योगी, व्यापार सबै ओली नेतृत्वको वर्तमान सरकारसँग आजित भइरहेको दाबी पनि गर्नुभयो ।

‘ओली सरकार नेपालमा सबैभन्दा असफल सरकार सावित भएको छ’, सभापति देउवाको दाबी थियो, ‘अति धेरै कर बढाएर सारा उद्योगी, व्यापारी आजित छन्, यति महँगी सरकारले बढाएको छ कि जनताले दशैंँ खर्चसमेत धान्न सक्ने अवस्था छैन ।’ सभापति देउवाले सरकारले एकदलीय अधिनायकवादी सर्वसत्तावाद लाद्न प्रजातन्त्र विरोधी कानुनहरु बनाउने प्रयास गरिरहेको आरोप पनि लगाउनुभयो ।

सभापति देउवाले प्रजातन्त्र विरोधी सरकारका कुनै पनि गतिविधि सैह्य नहुने चेतावनी पनि दिनुभयो । उहाँले पार्टीभित्रको अन्तरघातकै कारण चुनावमा हार व्यहोर्नु परेको उल्लेख गर्दै अन्तरघातमुक्त पार्टी निर्माणमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गर्नुभयो ।