आफ्नै सीप बेचेर दशैँ मान्दै राउटे

११ आश्विन २०७६, शनिबार १२:१५

काठमाडौं, भक्तपुरको पाँचतले मन्दिरअगाडि तौमढीमा शुक्रबार पर्यटक र सर्वसाधारणको राम्रै जमघट थियो । राउटे समुदायले निर्माण गरेका काठका सामग्री हेर्न त्यहाँ विदेशी पर्यटकदेखि सर्वसाधारणको जमघट थियो ।

राउटेले बनाएका सामग्रीमा त आकर्षण थियो नै, सँगसँगै आफ्नै भेषमा आएका राउटेसँग तस्बिर खिच्न तँछाडमछाड गर्नेको पनि थप आकर्षण थियो ।

दशैँको खर्च जोहो गर्न दैलेखको गुराँस गाउँपालिकामा बस्दै आएका चार जना राउटे आफूले बनाएका काठका सामान बिक्री गर्न भक्तपुर आएका हुन् । उनीहरूलाई भक्तपुरसम्म ल्याउन मानवीय आस्था नेपाल र समाज विकास केन्द्र नामक संस्थाले पुलको काम गरेको छ ।

“दशैँमा खसी किन्न आफूले बनाएको सामान बिक्री गर्न आएका हौँ”, राउटे प्रकाश कलियालले भने, “यसअघि हामी सामान बिक्री गर्न गएका थिएनौँ तर अहिले दशैँमा खर्च बढ्दै गएपछि सामान बिक्रीका लागि यहाँ आएका हौँ । ”

“दैलेखमा हामी ४६ परिवार राउटे छौँ, हरेक परिवारले खसी काट्नुपर्छ । सरकारले दिएको पैसाले मात्र खसी काट्न नपुग्ने भएपछि हामीहरू सामान बिक्री गर्न यहाँ आएका हौँ”, कलियालले स्पष्ट गरे । यो समाचार गोरखापत्रमा छ ।