
काठमाडौं , सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टीकापुर घटनामा दोषी ठहर भई जेलमा रहेका सांसद रेशम चौधरी छुट्ने संकेत दिनु भएको छ ।
टीकापुर घटनालाई लिएर हालिएको झुटा मुद्दा खारेज गर्ने सैद्धान्तिक सहमति भइसकेको उहाँले बताउनु भयो ।
सुनसरीमा आइतबार आयोजित जितिया महोत्सवलाई सम्बोधन गर्दै उहाँले भन्नु भयो, ‘टीकापुर घटनाको सन्दर्भमा आयो, अस्ती भर्खर हामीले बालुवाटारमा छलफल गरेर सबै झुटा मुद्धा खारेज गर्नुपर्छ भन्ने सैद्धान्तिक निर्णयसहित खारेजीको प्रक्रिया अगाडि बढेको छ । मलाई विश्वास छ केही समयपछि झुटा मुद्दाहरु खारेज हुन्छन् र बन्दी अवस्थामा रहेका थारुहरु केही समयपछि मुक्त हुन्छन् ।’
नेकपा अध्यक्ष प्रचण्डले शान्तिपूर्ण दबावबाटै संविधान संशोधनका लागि वातावरण बनाउनुपर्ने धारणा ब्यक्त गर्नु भयो । संविधान बनाउने क्रममा नै आफूले यो पूर्ण छैन भनेर लिखित असहमति राखेको स्मरण गर्दै उहाँले भन्नु भयो, ‘संविधान गतिशील दस्तावेज हो र संशोधन गर्दै जाने प्रयास निरन्तर जारी छ ।’
