डेंगीबारे आपतकालीन अवस्था घोषणा गर्नुपर्ने अवस्था छैनः मन्त्री यादव

१ आश्विन २०७६, बुधबार १७:३९

काठमाण्डौ ,उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले डेंगी संक्रमणबाट ज्यान गुमाउनेको संख्या अत्यन्तै न्यून रहेकाले आपतकालीन अवस्था घोषणा गर्नुपर्ने अवस्था नरहेको स्पष्ट पार्नु भएको छ ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा समय लिएर बोल्दै उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले उक्त कुरा बताउनु भएको हो ।

नेपालमा मात्रै नभइ विश्वका अन्य देशमा पनि डेंगीको संक्रमण देखिएको उल्लेख गर्दै उहाँले नेपालको डेंगी संक्रमण जटिल किसिमको नभएको दाबी गर्नुभयो ।

उहाँले डेंगीलगायत प्रकोप नियन्त्रणका लागि संघीय सरकारबाट प्रदेशमा ६ करोड १७ लाख रुपैयाँ र ८५ वटा पालिकामा एक करोड ६६ लाख रुपैयाँ पठाइएको जानकारी गराउनुभयो । त्यसैगरी पालिकाका विभिन्न जिल्लामा डेंगी रोग फैलाउने लामखुट्टेका लार्भा खोजेर मार्ने अभियान सञ्चालन गर्नुको साथै जनचेतनामूलक कार्यक्रम भैरहेको समेत उहाँले बताउनुभयो ।

मन्त्री यादवले देशैभरका एक सय १८ वटा अस्पतालबाट डेंगीसम्बन्धी तथ्यांक अध्यावधिक गर्ने काम भैरहेको पनि उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी मन्त्री यादवले सघन डेंगी रोग नियन्त्रण घर दैलो अभियान अन्र्तगत ‘सबैको साथ डेंगीको नाश हप्ताको एक दिन एक घण्टा हुँदैन कुनै कष्ट, सबैको सहभागितामा लामखुट्टे लार्भा नष्ट” अभियान सञ्चालन गरिएको तथा जानकारीमूलक सूचना प्रकाशनका कार्यगत सूचीको विवरण पनि संसदमा पेस गर्नुभएको थियो ।