सुदूरपश्चिम प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस उत्साहका साथ मनाउने

१ आश्विन २०७६, बुधबार १५:१५

धनगढी , सुदूरपश्चिम प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस उत्साहका साथ मनाउने तयारी गरेको छ । दिवसको तयारीका बारेमा बुधबार पत्रकार सम्मेलन गर्दै प्रदेश सरकारले असोज २, ३ र ४ गते घर घरमा दिपावली गर्न आग्रह समेत गरेको छ ।

असोज २ गते सबै मन्त्रालय र सरकारी कार्यालयमा राष्ट्रिय झण्डा, ब्यानर राख्ने, सरसफाइ गर्ने सुदूरपश्चिम मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयका निमित्त प्रमुख सचिव अर्जन पोखरेलले बताउनु भयो ।

यसैगरी, संविधान जारी भएको दिन असोज ३ गते बिहान धनगढीमा प्रभातफेरि गर्ने, प्रदेश प्रमुखलाई सलामी अर्पण गर्ने, मुख्यमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यस्तै असोज चार गते वृक्षारोपण गर्ने जनाइएको छ । संविधान जारी भएको खुशीयालीमा असोज २ गते प्रदेशका सबै अस्पतालमा ओपीडी सेवा निःशुल्क उपलब्ध गराउने र २, ३ र ४ गते सरकारी कार्यालयदेखि स्थानीयको घर घरमा दिपावली गरिने पत्रकार सम्मेलनमा जनाइएको हो ।

दिवस मनाउनका लागि प्रदेश सरकारले समिति तथा उप समिति पनि गठन गरेको छ ।