राष्ट्रिय युवा संघको केन्द्रीय समिति ३३५ सदस्यीय बन्ने

२६ भाद्र २०७६, बिहीबार १५:२३

काठमाडौं , तत्कालीन वाइसिएल नेपाल र युवा संघ नेपालबीच एकता भई बनेको राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय समिति ३३५ सदस्यीय बन्ने भएको छ। संगठनका इन्चार्ज महेश बस्नेत, सहइन्चार्ज तथा संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ र सह–संयोजक रमेश पौडेल उपस्थित विषेश बैठकले केन्द्रीय समिति ३३५ सदस्यीय बनाउन पार्टीसँग अनुमति माग्ने निर्णय गरेको हो।

बैठकले गरेका निर्णय बिहीबार सार्वजनिक गर्दै राष्ट्रिय युवा संघले चारजना पछि थप्ने गरी ३३१ मध्ये साविक युवासंघ नेपालबाट १७६ र वासिएलबाट १५५ जना सदस्य चयन गर्ने जनाएको छ। केन्द्रीय समितिको १११ सदस्यीय सचिवालयमा साविक वासिएलबाट ५२ र साविक युवा संघबाट ५७ सदस्य चयन गरिने पनि संयोजक दीपशिखा र सह–संयोजक पौडेलले संयुक्त रूपमा जारी गरेको निर्णयमा उल्लखे छ।

केन्द्रीय कार्यालयको ९ जना सदस्यका लागि साविक युवा संघबाट ५ र साविक वासिएलबाट ४ सदस्य चयन गर्ने भएको छ। त्यस्तै, ७ प्रदेशमध्ये ३ मा साविक वाइसिएल र ४ मा साविक युवा संघ नेपालले संगठनात्मक नेतृत्वको जिम्मेवारी लिने र ७७ जिल्लामध्ये ४२ जिल्लामा साविक युवा संघले र ३५ जिल्लामा साविक वाइसिएलले संगठनात्मक नेतृत्वको जिम्मेवारी लिने निर्णय गरेको छ। संगठनको केन्द्रीय कार्यालय तत्कालीन नेकपा माओवादी पार्टीको कार्यालय रहेको स्थान काठमाडौंको पेरिसडाँडामा राख्ने निर्णय भएको छ।

राष्ट्रिय युवा संघले एकता प्रक्रियालाई टुंग्याउन यहि शुक्रबार साविक पदाधिकारीको संयुक्त बैठक डाकेको छ। उक्त दिने कार्यालय उद्घाटन तथा पदभार ग्रहणको कार्यक्रम राखिएको युवा संघले जनाएको छ। साथै नयाँ चयन हुने केन्द्रीय समितिको बैठक असोज ९ गते काठमाडौं बस्ने भएको छ।