
काठमाडौं , अर्घाखाँची जिल्लाको नेवार समुदायमा प्रचलित ऐतिहासिक एवम् मौलिक भैरव नाच काठमाडौंमा प्रदर्शन हुने भएको छ । लोप हुने स्थितिमा रहेको सो नाचको संरक्षण र प्रवद्र्धनका निम्ति काठमाडौंमा प्रदर्शन गर्न लागिएको हो ।
नेवार सम्पर्क समाजको अर्घाखाँची–काठमाडौंको आयोजनामा आगामी असोज ३ गते साँझ प्रज्ञा प्रतिष्ठानमा प्रदर्शन गरिन लागेको समाजका अध्यक्ष नारायणप्रसाद श्रेष्ठले बताए ।
नेवार समुदायको मौलिक नाचका रुपमा रहेको यो नाच अर्घाखाँचीमा कहिलेदेखि शुरु भयो त्यसको एकिन तथ्य नभए पनि पुस्तौदेखि यो नाच नाच्ने क्रम रहेको नाच संरक्षणका अभियान्ता मित्रलाल श्रेष्ठले बताए ।
काठमाडौं उपत्यकाको भन्दा केही पृथक शैलीको यस नाचको प्रवद्र्धन गर्न सकिएको खण्डमा आन्तरिक पर्यटनको प्रवद्र्धन हुनुका साथै नेवार समुदायको सांस्कृतिक सम्पदाको संरक्षण हुने श्रेष्ठको भनाइ छ । नेवार समुदायको नाच भए पनि यस नाचमा विभिन्न जातीका मानिसको सहभगिता रहने भएकाले यसले एक किसिमको जातीय सद्भावसमेत कायम गर्दै आएको श्रेष्ठले बताए ।
धार्मिक आस्था एवम् रोचक भए पनि नयाँ पुस्ताको चासो घट्दै जाँदा यो नाच लोप हुने स्थितिमा रहेको छ । अघिल्लो पुस्ताको तुलनामा अहिलेको पुस्तासम्म आइपुग्दा यसको सौन्दर्य एवम् तालको मिठासमा कमि आइरहेको सन्दर्भमा यसको संरक्षण र प्रवद्र्धन नभए आउँदो पुस्ताका निम्ति यो नाच कथाजस्तै हुने अभियान्ता श्रेष्ठको भनाइ छ ।
भैरवलाई नेवार समुदायले आफ्नो इष्ट देवताका रुपमा पनि पूजा गर्ने भएको र यो तान्त्रिक विधिबाट नाच शुरु गरिने भएकाले नेवार समुदायमा भैरवको भाकल गर्ने चलन पनि छ । जस्तै कसैको सन्तान प्राप्ति, कुनै फल प्राप्ति वा लक्ष्य पूरा गर्न भैरवलाई बलीसहितको पूजा वा भेटी चढाउने परम्परा रहेको छ ।
