
काठमाडौं , नेपाल राष्ट्र बैंकले बाउन्स चेकका व्यक्ति वा कम्पनीलाई कालो सूचीमा राख्ने भएको छ । बाउन्स चेकको मुद्दामा राष्ट्र बैंक झनै कडा बनेर कालो सूचीमा राख्ने निर्णय गरेको हो ।
राष्ट्र बैंकले सोमबार एकीकृत निर्देशिका जारी गर्दै ब्यालेन्स नभएको खाताको चेक काटे र चेकमा हस्ताक्षर नमिले थप कारबाहीको व्यवस्था गरेको हो । चेक बाउन्समा कडा कारबाही नहुने हो भने बैंकिङ प्रणालीप्रति विश्वास नहुने निष्कर्ष निकाल्दै राष्ट्र बैंकले कडा कारबाहीको व्यवस्था गरेको छ ।
खातामा मौज्दात अपर्याप्त भएमा एकपटक भुक्तानी नभइकन फिर्ता भएको चेकको हकमा चेक धारक व्यक्ति, फर्म, कम्पनी वा संस्थाले कम्तीमा दुई कार्यदिनको समय दिई सम्बन्धित बैंक वा वित्तीय संस्थामा पुनः चेक पेश गर्नुपर्नेछ । खातामा मौज्दात अपर्याप्त भएमा दोस्रो पटक पनि रकम भुक्तानी नभएको खण्डमा चेकको रकम भुक्तानी गर्नुपर्ने बैंक वा वित्तीय संस्थामा लिखितरूपमा जानकारी दिन सक्नेछ । तर, यस्तो निवेदन चेक जारी भएको मितिले ६ महिना भित्र दिइसक्नु पर्ने बैंकले उल्लेख गरेको छ ।
चेकमा गलत हस्ताक्षर गरी चेक भुक्तानी नभएमा कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले जारी गरेको चेकको हस्ताक्षर नमिलेको खण्डमा बैंकले सो चेक धारकलाई चेकको हस्ताक्षर नमिलेको व्यहोरा पनि लिखित रूपमा जानकारी गराउनुपर्ने छ । चेक धारकले चेकको हस्ताक्षर नमिलेको व्यहोरा चेक जारी गर्ने व्यक्ति फर्म, कम्पनी वा संस्थालाई बैंक÷वित्तीय संस्था मार्फत जानकारी गराउनु पर्ने छ ।
चेक जारी गर्ने व्यक्ति फर्म, कम्पनी वा संस्थाले चेकमा सही हस्ताक्षर नगरेमा वा चेक परिवर्तन नगरेमा धारकले पहिलो पटक चेक पेश गरेको २ कार्यदिनपश्चात् चेकको रकम भुक्तानी गर्नुपर्ने बैंक वा वित्तीय संस्थामा लिखितरूपमा जानकारी दिन सक्नेछ ।
लिखित जानकारी प्राप्त भएपछि सम्बन्धित बैंक वा वित्तीय संस्थाले चेक जारी गर्ने त्यस्ता व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थालाई चेकको रकम भुक्तानी गर्न सार्वजनिक बिदाबाहेक सात दिनको सूचना दिनुपर्नेछ । सो मितिभित्र पनि रकम भुक्तानी हुन नसकेमा ९चेक हराएको, चोरी भएको वा अनाधिकृत रूपमा चेक जारी भएको लिखित निवेदन प्राप्त भएको अवस्थामा बाहेक० त्यस्तो चेक खिच्ने व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थालाई उक्त चेक जारी गर्ने बैंक वा वित्तीय संस्थाले अनिवार्यरूपमा कालोसूचीमा सूचीकृत गर्न कर्जा सूचना केन्द्रमा लेखी पठाउनु पर्नेछ । सो अनुसार नगरेमा बैंक तथा वित्तीय संस्थालाई यसै निर्देशन बमोजिम कारबाही हुनेछ ।
चेकमा गलत हस्ताक्षर गरी चेक भुक्तानी नभएको खण्डमा नेपाली बैंक तथा वित्तीय संस्थामा खाता भई चेक जारी गरेका विदेशी नागरिक समेतलाई लागु हुने उल्लेख छ । बैंकको निर्देशन बमोजिम कालो सूचीमा समावेश भएका व्यक्ति, फर्म, कम्पनी, संस्थाले बैंक तथा वित्तीय संस्थामा खाता ९कल खाता समेत० खोल्न पाउने छैनन् । साथै कालो सूचीमा रहेको व्यक्ति, फर्म, कम्पनी वा संस्थाको कायम रहेको खातामा रकम जम्मा गर्न बाहेक अन्य बैंकिंङ कारोबार गर्न नपाइने राष्ट्र बैंकले जानकारी गराएको छ ।
तर, दैनिक जीवनयापनको लागि चाहिने आधारभूत आवश्यक खर्चको प्रयोजनको लागि नेपाल सरकारबाट तोकिए बमोजिमको रकमको हदसम्म रकम निकाल्न, नेपाल सरकारलाई बुझाउनु पर्ने कर, शुल्क, दस्तुर आदि तिर्न तथा बैंक वा वित्तीय संस्थाको कर्जा नतिरी कालो सूचीमा समावेश भएका व्यक्ति, फर्म, कम्पनी वा संस्थाले ऋण तिर्ने प्रयोजनको लागि मात्र खाता सञ्चालन गर्न यस व्यवस्थाले बाधा पुगेको नमानिने उल्लेख छ । सौर्य अनलाइनबाट
