नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी उच्चस्तरीय भेटवार्तामा

२३ भाद्र २०७६, सोमबार १४:०७

काठमाण्डौ , नेपाल भ्रमणमा रहनु भएका चीनका विदेशमन्त्री वाङ यीले उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम जारी रहेको छ । नेपालको तीनदिने भ्रमणका लागि आइतबार काठमाण्डौ आइपुग्नु भएका मन्त्री यीले आज राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै भेट गर्ने कार्यक्रम छ ।

उहाँले बेलुका ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीसँग तथा ६ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उहाँले दिउँसो ३ बजेपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग वार्ता गर्ने तयारी छ । वार्ता आर्थिक र विकास साझेदारीका साथै नेपाल–चीन सम्बन्धका विविध पक्षमा केन्द्रित हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

वार्तामा दुई देशबीच भएका सम्झौता र तिनको कार्यान्वयनको अवस्था तथा तथा नेपालमा चिनियाँ सहयोगमा सञ्चालित विकास परियोजनाको पुनरावलोकन र द्रूत कार्यान्वयनमा नेपालले जोड दिने तयारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।