
सप्तरी , संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले भ्रष्टाचार र गलत काम गर्नेलाई पक्राउ गरेर थुन्ने कामलाई निरन्तरता दिइने बताउनु भएको छ । यस्ता व्यक्तिलाई थुन्न ठूला ठूला हल बनाउनु परे पनि संघीय सरकार तयार रहेको उहाँले बताउनु भयो ।
कागजमा काम हुने र जनताले नदेख्ने सम्पूर्ण योजना छानबिनको जिम्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिइएको उहाँले बताउनु भयो । हिजो सप्तरीमा आयोजित कार्यक्रममा मन्त्री पण्डितले स्थानीय तहमा उपभोक्ता समितिमार्फत र अन्य निकायबाट भएका विकास निर्माणका योजनाको छानबिनका लागि अख्तियारलाई जिम्मेवारी दिइएको बताउनु भयो ।
‘अहिले गलत काम गर्नेलाई थुनेर अख्तियारको कोठाहरु भरिभराउ बनेको छ’ मन्त्री पण्डितले भन्नु भयो, ‘तर पनि भ्रष्टाचारी पक्रिन रोकिने छैन । उनीहरुलाई थुन्नका लागि ठूला ठूला हल बनाउन पनि हामी तयार छौं ।’
गलत गर्ने जनप्रतिनिधि वा राष्ट्रसेवक कसैलाई पनि नछाड्ने उहाँले बताउनु भयो । काका, भतिजा, दाजुभाइको नेतृत्वमा उपभोक्ता समिति बनाएर काम गर्ने जनप्रतिनिधिविरुद्ध सरकार कठोर रुपमा भन्दै उहाँले ठेकदारलाई कामको जिम्मेवारी दिने उपभोक्ता समितिका पदाधिकारीलाई पनि समातिने बताउनु भयो ।
उहाँले अघि भन्नु भयो, ‘यस्ता काममा कुनै मन्त्री संलग्न छन् भने त्यस्ता मन्त्रीलाई पनि जेल जानुपर्छ । मेयरको संलग्नता भए उनलाई पनि जेल जानुपर्छ ।’ इन्डोनिसियामा १ सय मेयर जेलमा रहेको दृष्टान्त सुनाउँदै मन्त्री पण्डितले भन्नु भयो, ‘नेपालका कति जना जेलमा जानुहुन्छ, हेर्नुहुन्छ ।’
