सुडान घोटालाका ठेकेदार शम्भु भारती पक्राउ

१३ भाद्र २०७६, शुक्रबार १२:२८

काठमाडौं, सुडान घोटाला काण्डमा दोषी ठहर भई फरार ठेकेदार शम्भु भारती पक्राउ परेका छन्।

प्रहरीले उनलाई ललितपुरको भैँसेपाटीस्थित निवासबाटै पक्राउ गरेको हो। सर्वोच्च अदालतबाट दोषी ठहर भई फरार रहेका भारतीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पक्राउ गरेको सिआइबीका प्रवक्ता एसपी दीपक रेग्मीले जानकारी दिए।

अदालतले भारतीलाई १४ करोड २० लाख विगो र जरिवानासहित एक वर्ष जेल सजाय फैसला गरेको थियो । भारतीलाई फैसला कार्यान्वयनका लागि सर्वोच्चमा बुझाइने सिआइबीले जनाएको छ।

प्रहरीको सुडानस्थित शान्ति मिसनका लागि आवश्यक एपिसीसहित बन्दोबस्तीका सामान खरिदमा २९ करोड भ्रष्टाचार गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ठहर थियो। आयोगले मुद्दा दायर गरी करिब ४४ करोडको खरिदमा २९ करोड अनियमितता भएको जनाएको थियो।