नेपालमा अब कम्युनिस्ट शासन चाँडै अन्त्य हुनेः देउवा

६ भाद्र २०७६, शुक्रबार १९:११

सुर्खेत , नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले नेपालमा अब कम्युनिस्ट शासन चाँडै अन्त्य हुने ठोकुवा गर्नु भएको छ ।

दुई तिहाइको दम्भ देखाँउदै वर्तमान कम्युनिस्ट सरकार अधिनायकवादी बनेको भन्दै उहाँले नेपालमा अब कम्युनिस्ट शासन चाँडै अन्त्य हुने बताउनु भयो । केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित महाधिवेशन प्रतिनिधिका लागि कर्णाली प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम समापनमा शुक्रबार सुर्खेत पुग्नु भएका देउवाले यस्तो बताउनु भएको हो ।

उहाँले वर्तमान कम्युनिस्ट सरकार राणा शासनको भन्दा अधिनायकवादी बनेको तर्क गर्नु भयो । ‘२००७ सालबाट जनताको हीतका लागि लड्दैआएको कांग्रेसले नेपालमा राणा शासनदेखि पञ्चायत हुँदै राज्य व्यवस्था हटायो । तर जनताको विश्वास गुमाइसकेका नेपालका कम्युनिस्ट हटाउन धेरै कुर्नुपर्ने छैन ।’

वर्तमान सरकारले राणा शासनभन्दा अधिक बनेर जनतालाई हाँस्न र रुन पनि नदिएको उहाँको आरोप छ । ‘वर्तमान कम्युनिस्ट सरकारले जनतालाई स्वतन्त्रपूर्वक बोल्न र लेख्न पनि दिएको छैन, भष्टाचार, हिंसाजस्ता ठूला अपराधमा मुछिँदैआएको छ । अब कांग्रेसको अन्तिम लडाईँ भनेकै नेपालमा कम्युनिस्ट शासनको अन्त्य गर्नु हो,’ देउवाले भन्नु भयो ।

प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका दर्जनौँ केन्द्रीय शिर्ष नेतादेखि कर्णाली प्रदेशका महाधिवेशन प्रतिनिधि लगायत कांग्रेस नेताहरुको सहभागिता रहेको थियो ।