हजार जुनीसम्म’ नयाँ गीत सार्वजनिक(भिडियो सहित)

२ भाद्र २०७६, सोमबार १४:२६

काठमाडौं , जनै पूर्णिमाको अवसर पारेर प्रदर्शनमा आएको फिल्म ‘हजार जुनीसम्म’ नयाँ गीत सार्वजनिक भएको छ। सार्वजनिक गीत ‘सत्य सत्य’ मा दर्शकले आर्यन सिग्देल र प्रियंका कार्कीलाई देख्न सक्छन्। यसअघि पब्लिसिटीबाट लुकाइएकी प्रियंकालाई निर्माण पक्षले यो गीतबाट बाहिर ल्याएको छ। फिल्ममा प्रियंका महत्त्वपूर्ण भूमिकामा छिन्।

फिल्म नहेरेका दर्शकले गीत सार्वजनिक भएसँगै प्रियंका फिल्ममा रहेको जानकारी पाएका छन् भने फिल्म हेर्न पुगेका दर्शकका लागि प्रियंका सरप्राइज थिइन्। गीतमा मानस थापाको शब्द, प्रवीण पौडेलको संगीत र सुगम पोखरेलको स्वर छ। सार्वजनिक गीतलाई सिक्किमकै हिमाली भेगमा छायांकन गरिएको छ। गीतमा आर्यन र प्रियंका रोमान्टिक देखिएका छन्। गीतमा यी दुईको केमेस्ट्रीसँगै ग्लामर पनि देखाइएको छ।

प्रियंका र आर्यनको गीतलाई चाँगु लेकमाथि खिचिएको हो। त्यतिबेला तापक्रम माइनस ४ डिग्री रहेको थियो। सिक्किमको गान्तोक अवस्थित यो ताललाई पानीको स्रोत पनि भन्ने गरिन्छ। पर्यटकका लागि आकर्षणको केन्द्र मानिने चाँगु लेकमा खिचिएको गीतलाई कथा खुल्ने भन्दै निर्माण पक्षले सार्वजनिक गरेको थिएन।

प्रदर्शनरत फिल्ममा दर्शकले आर्यन सिग्देलको कामलाई निकै रुचाएका छन्। स्वस्तिमा खड्का र सलोन बस्नेतले पनि दर्शकलाई बाँधेर राख्छन्। नाइँ नभन्नु ल सिरिजका निर्देशक विकासराज आचार्यको निर्देशनमा तयार फिल्मलाई प्रेमकथामा आधारित फ्यामिली ड्रामा भनिएको छ। फिल्ममा आर्यन सिग्देल, स्वस्तिमा खड्का, सञ्चिता लुइँटेल, शिवहरि पौडेल, अखिलेश प्रधान, सञ्चिता लुइँटेल र अनुभव रेग्मीलगायतको अभिनय रहेको छ।

निर्देशक आचार्यले फिल्मको पटकथा सामीप्यराज तिमल्सेनासँगको सहकार्यमा तयार पारेका हुन्। फिल्ममा कविराज गहतराजको नृत्य, उदयराज सोताङ, राजनराज शिवाकोटी, वसन्त सापकोटा र प्रवीण पौडेलको संगीत, अर्जुन जीसीको सम्पादन छ। यसमा विशाल चाम्लिङ निर्माता छन् भने कार्यकारी निर्मात्री कविता रेग्मी हुन्।