सचेतक ढकालको निवासमा बम विस्फोट

३१ श्रावण २०७६, शुक्रबार १०:३४

काठमाडौं , नेपाल कम्युनिस्ट पार्टी प्रदेश ५ का सचेतक भूमेश्वर ढकालको निवासमा बम विस्फोट भएको छ ।

रुपन्देहको सैनामैना नगरपालिका–७ स्थित ढकालको निवासमा बिहीबार राति ३ वटा बम विस्फोट गराइएको हो । इलाका प्रहरी कार्यालय, बुटवलका डीएसपी भीमलाल भट्टराईले ढकालको निवासमा गएराति बम विस्फोट भएको पुष्टि गरेका छन् ।

बम विस्फोटका कारण ढकाल, उनका बाबुआमा सुत्ने कोठा र उनले प्रयोग गर्दै आएको लु १ ज ४५६ नम्बरको कारलाई लक्षित पुगेको छ । विस्फोटबाट कारको पछाडिको भागमा सामान्य क्षति पुगे पनि कोठामा भने क्षति भएको छैन ।

विस्फोटको समयमा ढकालका बाबा–आमा र पत्नी घरमा सुतिरहेका थिए । सचेतक ढकाल भने घरमा थिएनन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी केही समयदेखि काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका छन् ।

प्रमुख सचेतक ढकाल प्रदेशसभाको गाडी खरिद अनियमितता प्रकरणमा मुछिएका थिए ।