उर्जा जलश्रोत तथा सिञ्चाई मन्त्री बर्षमान पुनको चमत्कार

२९ श्रावण २०७६, बुधबार १२:११

काठमाडौं, नेपाल विद्युत् प्राधिकरणले आर्थिक बर्ष २०७५÷७६ मा ७ अर्ब बढी नाफा कमाएको छ । उर्जा जलश्रोत तथा सिञ्चाई मन्त्री बर्षमान पुनले मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी आर्थिक बर्ष २०७५÷७६ मा प्राधिकरणले ७ अर्ब २० करोड नाफा कमाएको जानकारी दिएका हुन् । २०७४÷७५ मा प्राधिकरणले साढे २ अर्ब नाफा कमाएको थियो ।

अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्षमा प्राधिकरणले १ सय ४९ प्रतिशतले बढी नाफा कमाएको हो । प्राधिकरणले साँवा, व्याज र रोयल्टी गरी राज्यको ढुकुटीमा १५ अर्ब ५९ करोड रुपैयाँ जम्मा गरेको छ । प्राधिकरणले विद्युत् चुहावटमा पनि उल्लेख्य रुपमा कमी ल्याएको छ । अघिल्लो बर्षको भन्दा ५ दशमलब १३ प्रतिशतले विद्युत् चुहावट घटेको छ । हाल प्राधिकरणको विद्युत् चुहावट १५ दशकमलब १३ प्रतिशत छ ।

प्राधिकरणले गत आर्थिक बर्षमा ३ करोड ४७ लाख युनिट अर्थात् ३२ करोड रुपैयाको विद्युत् निर्यात गरेको छ । पत्रकार सम्मेलनमा उर्जा मन्त्री पुनले लामो समय देखि रुग्न बनेको अप्पर त्रिशुली ३ ‘ए’ तथा कावेली करिडोर लगायतका उत्पादन तर्फ १, प्रशारण तर्फ ३ र वितरण तर्फ ३४ गरी ३८ वटा रुग्न आयोजनाहरु सम्पन्न भएको जानकारी दिए । उनले काठमाडौं उपत्यकालाई तार रहित बनाउने अभियान अन्तर्गत भूमिगत तार बिछ्याउने काम छिट्टै सुरु गरिने बताए ।