
दाङ, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले श्रमजीवी पत्रकारलाई हक अधिकार दिलाउनका लागी आन्दोलन गर्ने चेतावनी दिएका छन । रिपोटर्स क्लव नेपाल दाङले तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा अध्यक्ष आचार्यले श्रमजीवी पत्रकारलाई न्यूनतम पारिश्रमिक, नियुक्ति पत्र दिलाउनका लागी आन्दोलन शुरु गर्ने चेतावनी दिएका हुन ।
उनले श्रमजीवी पत्रकारलाई हक अधिकार दिलाउनका लागि ठूला मिडिया हाउसबाटआन्दोलन शुरु गर्ने समेत बताए। अध्यक्ष आचार्यले श्रमजीवी पत्रकारलाई अधिकार दिलाउनका लागि मिडिया हाउस बन्द भए पनि आन्दोलन नरोकिने प्रष्ट पारे।
त्यसैगरी अध्यक्ष आचार्यले सरकारले ल्याउन लागेको प्रेस विरोधी विधेयक महासंघको आन्दोलनका कारण रोकिएको दावी गरे। उनले पत्रकार महासंघ आफैमा आन्दोलनको नाम भएको भन्दै सरकारले ल्याउने प्रेस विरोधी कानुनलाई कहिल्यै नमान्ने दावी समेत गरे। सत्तामा पुग्ने हरेक राजनीतिक दलले प्रेस लाई कुन्ठीत गर्ने तथा प्रेस स्वतन्त्रता बिरोधी कानुन ल्याउन खोज्ने गरेको भन्दै त्यसकाविरुद्ध सदैव लागि रहने समेत बताए।
त्यसैगरी अध्यक्ष आचार्यले महासंघ अहिले सरकारका तिनै तहले ल्याउने प्रेस कानुनका बारेमा लागि परेको भन्दै सवै तहले प्रेसमैत्री कानुन ल्याउने बिश्वास समेत व्यक्त गरे। त्यस्तैगरी कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले महासंघले थालेको आन्दोलका कारण सरकार पछि हटेको दावी गरे।
सरोकारवालासँग समन्वय र सहकार्य नगरी ल्याउने जस्तो सुकै कानुन आफूलाई मान्य नहुने उनको जिकिर रहेको थियो। महासंघ अहिले महासंघको भावी रणनीति, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि भेटघाट र छलफलमा रहेको समेत दावी गरे।
