लगानी सम्मेलन गर्दै तिलोत्तमा

२७ श्रावण २०७६, सोमबार १२:२९

बुटवल , कृषि, उद्योग व्यापार, पर्यटन पूर्वधार लगायतका क्षेत्रलाई प्राथमिकता दिँदै रूपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी ९ असोजमा तिलोत्तमा लगानी सम्मेलन आयोजना गर्ने भएको छ । नगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गरी डेढ दर्जनभन्दा बढी परियोजना सम्मेलनमा लैजाने गरी तयारी गरिरहेको बताएको छ ।

तय गरिएका परियोजनामा तिलोत्तमा कृषि उपज संकलन तथा प्रशोधन केन्द्र, ढाक्रेबास पर्यटकीय स्थल, तिलोत्तमा मासु प्रशोधन केन्द्र, सिटी कलेज, प्रादेशिक बसपार्क, तिलोत्तमा औद्योगिक क्षेत्र, चीन र भारतलाई समेत व्यापारमा जोड्ने गरी बिजनेस हब, रेल वे रिङरोडजस्ता परियोजना छन् ।

त्यस्तै नगरका तीन स्थानमा स्मार्ट हाटबजार, स्मार्ट पार्किङ स्थल, बाल उद्यान, रोहिणी एकीकृत बहुउद्देश्यीय पर्यटकीय स्थल, तिलोत्तमा मिनी नेपाल, महिला तथा बाल अस्पताल र एकीकृत दूध संकलन तथा प्रशोधन केन्द्र रहेका छन् ।

तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले आर्थिक विकासमा निजी क्षेत्रको उपस्थितिलाई अझ व्यापक बनाउने उद्देश्यले लगानी सम्मेलन आयोजना गर्न लागिएको बताए । लगानी सम्मेलनबाट दुई अर्ब लगानी भित्र्याउने नगरपालिकाको लक्ष्य छ ।

सम्मेलनमा आयोजकसहित संघीय तथा प्रदेश सरकारका मन्त्री, सांसद, प्रमुख राजनीतिक दलका नेता, सरकारका उच्चपदस्थ प्रतिनिधि, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार संस्थाका प्रतिनिधि, नेपाली निजी क्षेत्र, गैरआवासीय नेपाली र स्वदेशी तथा विदेशी लगानीकर्तासमेत गरी पाँच सय जनाको सहभागिता रहने जनाइएको छ ।

सम्मेलनका लागि करिब ३० लाख खर्च हुने अनुमान गरिएको छ । यसमध्ये नगरपालिकाको तर्फबाट २० लाख रुपैंयाँ विनियोजन गरिएको छ भने बाँकी रकम निजी क्षेत्रबाट जुटाउने लक्ष्य रहेको नगरपालिकाले जनाएको छ ।