त्रिशूलीमा बस दुर्घटनाः तीनको मृत्यु, १६ को उद्धार, २६ वेपत्ता (यात्रुको नामसहित)

२४ श्रावण २०७६, शुक्रबार ११:५५

धादिङ, सर्लाहीको मलङ्गवाबाट काठमाडौं आउँदै गरेको ना ६ ख ७४६९ नं।को यात्रुवाहक बस आज बिहान ३ बजे त्रिशुली नदीमा खसेको छ। बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १६ जनाको उद्धार गरिएको छ। बसमा रहेका २६ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।

बस दुर्घटनामा मृत्यु हुनेहरू सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–४ का राजनारयाण रौनियार, उनकी पत्नी शोभा रौनियार, भतिजा सौरव रौनियार रहेको प्रहरीले जनाएको छ।

उद्धार गरिएका १६ जनामा केही घाइते रहेका छन्। उनीहरूको स्थानीय राजमार्ग सामुदायिक अस्पताल मलेखु र गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताए।

उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र रेडक्रसकर्मीहरू लागिरहेका छन्।

यसैबीच, सर्लाही जिल्ला प्रहरी कार्यालयका अनुसार, बसमा ४५ जना रहेका थिए। बसमा मलङ्गवाबाट ४०, सर्लाहीको हरिपुर नगरपालिकाबाट दुई यात्रु चढेको र बसका तीन कर्मचारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

बसमा सवार हुनेहरुमा विष्णु गाउँपालिकाका खुश रञ्जन, कौडेना गाउँपालिका शिवनगरका मोहम्म मतलुङ, लक्ष्मीपुरका मनिष राय दुई जना, कविलासी नगरपालिका अगर्वाका नवीनकुमार महतो, चक्रघटा गाउँपालिका बेल्हीका राकेश राउत, औरहीका रवि कुमार तीन जना, भारतको मुज्जफरपुरका आशिष कुमार दुई जना, मलङ्गवा नगरपालिका गम्हरियाका दिनेश ठाकुर रहेका थिए।

त्यस्तै, भारतका पर्सामोडका धीरेन्द्र शर्मा, भारतका अररियाका दिलीप दास तीन जना, ब्रहम्पुुरी गाउँपालिका त्रिभुवनगरका राजनारायण रौनियार चार जना, मलङ्गवाका सञ्जीव चौधरी, अरिवन्द सिंह (वकिल), अनिष राय, भुपेन्द्र कुमार, रोहित शमिम, सुशील श्रीवास्तव, अनिल, मलङ्गवा गणेशियाका भाग्यनारायण महतो तीन जना रहेका थिए।

प्रहरीका अनुसार, भारतकै लरकवाका रामबाबु यादव तीन जना, भारतका कुवारीका अजय ठाकुर दुई जना र हरिपुर नगरपालिकाका योगेन्द्र चौधरी, अमित लामा बसमा सवार थिए।

बस चालक लक्ष्मण जमरकट्टेल, सहचालक प्रमोद चौधरी, कन्डक्टर ऋषि उप्रेती बसमा सवार रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

उद्धार गरिएका १६ को पहिचान भएको छ। पहिचान हुनेमा भुपेन्द्रकुमार यादव, अनिष राय, सुनिता रोकाया, शिखरकुमार महतो, राकेश बैठा, सञ्जय महतो, जहेन्दर ठाकुर, रोहितकुमार मण्डल, शमिमराजा अन्सारी, धीरेन्द्र ठाकुर, चालक लक्ष्मण जमरकट्टेल, विजय राय यादव, दिनेश ठाकुर, भोगेन्द्र चौधरी, राहुल रहेका छन्।