इलाममा १७ र दाङमा ४३ मतदान केन्द्र थप

११ कार्तिक २०७४, शनिबार ११:४१

कात्तिक ११, काठमाडौँ । आगामी मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि इलाममा १७ र दाङमा ४३ वटा मतदान केन्द्र थपिएका छन् ।

इलामका १ सय ४४ वटा मतदान स्थलमा १७ वटा मतदान केन्द्र थप गरिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्णबहादुर लिम्बूले जानकारी दिए । यससँगै जिल्लामा मतदान केन्द्रको संख्या २ सय ६६ पुगेको छ । यसअघि १४४ मतदानस्थल र २ सय ४९ मतदान केन्द्र रहेका थिए ।

जिल्लामा चारवटा नगरपालिका र छ वटा गाउँपालिका रहेका छन् । त्यस्तै एक उपमहानगरपालिका रहेको दाङमा ४३ वटा मतदान केन्द्र थप गरिएको हो । यससँगै जिल्लामा ३ सय ९४ मतदान केन्द्र पुगेको छ । यसअघि ३ सय ५१ वटा मतदान केन्द्र रहेका थिए ।