
काठमाडौं , भारतकी पूर्व विदेश मन्त्री सुश्मा स्वराजको निधन भएको छ। ६७ वर्षीया स्वराजको भारतको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एआईएमएस) मा मंगलबार राति निधन भएको भारतीय मिडियाहरूले जनाएका छन्।
उनको मृत्यु हृदयाघातका कारण भएको टाइम्स अफ इन्डियाले जनाएको छ।
सन् २०१६ मा मिर्गौला प्रत्यारोपण गरेकी स्वराजले स्वास्थ्य समस्याकै कारण गएको लोक सभा चुनाव लडेकी थिइनन्।
२६ मे, २०१४ देखि पाँच वर्ष उनी भारतको विदेश मन्त्री रहिन्। इन्दिरा गान्धीपछि यो जिम्मेवारी सम्हाल्ने उनी दोस्रो भारतीय महिला हुन्।
१९७७ मा उनी हरियाणाबाट चुनाव जितेर २५ वर्षकै उमेरमा राज्यमन्त्री भएकी थिइन्। उनी दिल्लीको मुख्यमन्त्री समेत भइन्।
