ऐन विपरीत नागरिकता बाँड्ने अधिकारीलाई पनि कारबाही गर्नुपर्ने सांसद त्रिपाठीको माग

२१ श्रावण २०७६, मंगलवार १५:१५

काठमाण्डौ , नेकपाका सांसद हृदयेश त्रिपाठीले नागरिकता ऐन विपरीत नागरिकता प्रदान गर्ने अधिकारीलाई कारवाही गरेर त्यसको जानकारी सदनलाई गराउन माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको मंगलबारको विशेष समयमा बोल्दै सांसद त्रिपाठीले हालै मन्त्रिपरिषद् बैठकले केही नागरिकता खारेज गर्ने निर्णय गरेको सन्दर्भमा नागरिकता दिनेलाई पनि कारबाही गर्न माग गर्नुभएको हो ।

उहाँले ‘नागरिकता पाउनेलाई मात्रै कारबाही गर्ने तर नागरिकता दिनेमाथि कारबाही किन भएन ? भनी प्रश्न गर्नुभयो । उहाँले नागरिकता ऐन अनुसार गलत नागरिकता प्रदान गर्नेमाथि कारबाही भएको सुन्नमा नआएको भन्दै ती अधिकारीलाई कारबाही गरेर सरकारले सदनलाई जानकारी गराउन माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नागरिकता त खारेज गरियो सभामुख महोदय, जसले दिएका छन् तिनमाथि कारबाही भयो कि भएन ? कति जनामाथि कारबाही भयो ? ती आफैँ कहीँ बजारबाट किनेका नागरिकता होइन होला । आफैँले निर्माण गरेको, आफैँले हस्ताक्षर गरेको होइन होला । प्रमाणपत्र दिने अधिकारीहरु माथि के के कारबाही भयो त्यसको जानकारी सदनले पाउन पाए हामी अनुगृहित हुने थियौँ।’