अपराधी र भ्रष्टाचारी हामफालेर मर्ने अवस्था आउनु पर्छः सांसद रावल

१५ श्रावण २०७६, बुधबार १४:४१

काठमाडौं, सांसदहरुले देशमा बढिरहेको भ्रष्टाचारविरुद्ध कडा टिप्पणी गरेका छन्। राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी सांसदहरुले भ्रष्टाचारविरुद्ध बोलेका हुन । ललिता निवासको सरकारी जग्गा विक्री प्रकरणमा मुछिएका डिल्ली बजार मालपोतका तत्कालीन खरिदार तथा कांग्रेस पर्वतका सचिव युक्त श्रेष्ठले हामफालेर आत्महत्या गरेकोबारेमा बोल्दै सांसदहरुले भ्रष्टाचारविरुद्ध राज्यसंयन्त्र आक्रमक हुनुपर्ने बताएका थिए । बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भ्रष्टाचारीलाई मृत्युदण्ड दिनुपर्ने बताउनु भयो ।

नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले बालुवाटारको जग्गा प्रकरणमा मुछिएका युक्त श्रेष्ठको हत्या भएको दाबी गरेपछि नेकपाका सांसदहरुले फरक र कडा भनाइ राखेका हुन्। कँडेलको भनाइको जवाफ दिँदै सांसद रावलले निर्दोषहरुले आत्महत्या गर्ने दिन अन्त्य हुनुपर्ने बताउँदै अपराधी र भ्रष्टाचारीले मर्नै पर्ने बताउनु भयो । ‘अपराधी र भ्रष्टाचारीले आठ तलाबाट मात्रै होइन, त्यहाँ भन्दा अझै माथिबाट हामफालेर मर्ने अवस्था आउनुर्छ’, रावलले भने, ‘दिनको १० जना भ्रष्टाचारी मरेको भन्ने खबर सुन्‍न पाइयोस।’