विप्लव समूहका नेता कार्यकर्ता नेकपामा प्रवेश

१३ श्रावण २०७६, सोमबार ११:५९

ललितपुर , नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले समाजवाद धेरैभन्दा धेरै जनता केन्द्रित भएर गरिने क्रान्ति भएको बताउनु भएको छ ।

अध्यक्ष प्रचण्डले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउन पाए हुन्थ्यो भन्नेमा प्रतिक्रियावादी रहेको बताउनु भयो ।

सोमबार आफ्नै निवास खुमल्टारमा विप्लव समूह परित्याग गरी नेकपामा प्रवेश गर्ने सो समूहका ब्यूरो सदस्य तथा बारा जिल्लाका पूर्व सचिव रमण घिमिरे लगायतका नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा स्वागत गर्दै प्रचण्डले यस्तो बताउनु भएको हो ।

प्रचण्डले पार्टीमा प्रवेश गर्ने नेता तथा कार्यकर्ताहरुलाई उचित जिम्मेवारी दिने पनि बताउनु भयो । नवप्रवेशी नेता रमण घिमिरेले आफूले बाटो बिराएको महशुस भएपछि विप्लव समुह परित्याग गरेको बताउनु भयो ।

पार्टी प्रवेश गर्नेहरुमा रमण घिमिरे, आवास मन्सुरी, सुरेश कुमार यादव, विनोद केसी, सुवास तिवारी राजकुमार केसी खत्री, सन्दिपकुमार कार्की, नमराज शर्मालगायत रहेका छन् ।