‘मेरो अपहरण’ विमोचित

११ श्रावण २०७६, शनिबार १४:३८

काठमाडौँ , सरिता अर्यालको नियात्रा संग्रह ‘मेरो अपहरण’ शुक्रबार सार्वजनिक भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, साहित्यकार तारानाथ शर्मा, माया ठकुरी, प्रतिक ढकाल, निर्मोही ब्यास, हरिमाया भेटवाल, कुर्मराज शाही र लेखिका सरिता अर्याललगायतले पुस्तकको संयुक्त विमोचन गरेका हुन् ।

पुस्तक नायक एवम् कालिकोटका प्रदेशसभा सदस्य कुर्मराज शाहीले ढुंगाको जिल्लाको विषयमा कृति आउनु नै ठुलो विषय भएको बताए । युद्धबिरामका बेला कालिकोटका गाउँ बुझ्न त्यहाँ आएकी सरिता अर्यालसँगै अपहरणमा परेको पीडादायी क्षण सम्झदै शाहीले थपे, ‘त्यो कथा बिर्ससकेको थिएँ । दिदीले किताब लेख्दैछु भन्नुभएपछि त्यो घटना झल्झल्ती याद आयो । तर, अहिले पार्टी पनि एक भएकोछ । यो त अब नबिर्सी नहुने भएको छ । अब सर्लक्कै बिर्सनुपर्ने भएको छ ।’

‘म पनि पात्र बनेँ । हामी जब गाउँ पुग्यौं । त्यहाँको पीडाको कुरै नगरौ । सरिता अर्याल दिदी एकदमै रुनुभएको थियो । कति पीडा थियो होल, जसले किताब नै जन्मायो । हामी मुस्किलले भागेर बाँच्यौँ । एकातिर माओवादीबाट मारिने डर अर्को पुलमा खसेर मर्ने डर । तान्दैतान्दै माथि आइयो । माओवादीबाट काटिएर मर्नुभन्दा भीरबाट हाम्फालेर मर्नु बेश भन्ने हाम्रो शर्त भइसकेको थियो । र आज नाफाको जिन्दगी पाएर यो किताब पनि पढ्न पाउने भएँ ।’ शाहीले घटना सुनाउदा हल स्तब्ध देखिन्थ्यो ।

किताबबारे साहित्यकार एवं समीक्षक हरिमाया भेटवालले ‘युद्धको बेला परिवार छाडेर कालिकोट जानु ठूलो बहादुरी भएको’ बताइन् । ‘यस पुस्तकले द्वन्द्वरत सरकार र माओवादी पक्षद्धारा कालिकोटका जनतामाथि गरिएको बर्बर दमनलाई जस्ताको तस्तै पस्केकाले युद्धभित्रको प्रताडना बुझ्न पुस्तक उपयोगी देखिन्छ ।’ उनले थपिन् । साथै उनले साहसिक लेखनको प्रसंसा समेत गरेकी थिइन् ।

त्यसैगरी साहित्यकार प्रतीक ढकालले ‘किताब पाँच घन्टाको फिल्मजस्तो बनेको र लेखिकाले साहसपूर्ण काम गरेको’ बताए । आफ्ना अनुभूति सुनाउँदै लेखिका सरिता अर्यालले ‘मनभित्रको पीडा पन्ध्र सोह्र वर्षपछि पाठकसामु बिस्कुन झै सुकाएको’ बताइन् । २२२ पेजको किताब बिएन पुस्तक संसारले प्रकाशन गरेको हो । किताबको मुल्य ३५० रुपैयाँ तोकिएको छ ।