अव समाजवाद निर्माणको आधार तय गर्दै अघि बढ्छौः प्रचण्ड

१० श्रावण २०७६, शुक्रबार १४:४०

काठमाडौं , सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवाद निर्माणका लागि सरकारले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को नारा अघि सारेको बताउनु भएको छ । उहाँले सामाजिक न्यायसहितको समृद्धि निर्माण गरेर आफ्नो पार्टीले विश्वमा समाजवादको नयाँ मोडल प्रस्तुत गर्न चाहेको बताउनु भयो ।

शुक्रबारबाट काठमाडौंमा सुरु भएको ‘एशीया प्यासिफिक कन्फरेन्स अफ सोलिडारिटी वीथ क्युबा’ को दुई दिने सम्मेलनको उद्घाटन गर्दै उहाँले समाजवाद निर्माणका लागि क्युवाको कम्युनिस्ट पार्टीले खेलेको भूमिकाको प्रशंशा गर्नु भयो । क्युबा एउटा राष्ट्र मात्रै नभएर विश्वका कम्युनिस्टहरुको आर्दश भूमि पनि भएकाले त्यसबाट सिकेर विश्वका कम्युनिस्ट पार्टीहरुले आफूलाई अघि बढाएको उहाँले बताउनु भयो ।

अध्यक्ष दाहालले क्यूवाले सर्वहारा वर्गको उत्थानका लागि लडेको लडाई विश्वभरकै कम्युनिस्टहरुका लागि आर्दश बनिरहने दावी गर्नु भयो । उहाँले आफ्नो पार्टीले पनि जनताको विश्वास जितेर दुई तिहाई बहुमतको बलियो सरकार बनाएको उल्लेख गर्दै अव समाजवाद निर्माणको आधार तय गर्दै अघि बढने बताउनु भयो ।