
काठमाडौं , सभामुख कृष्णबहादुर महरासँग चिनियाँ राष्ट्रिय जनकंग्रेसको वातावरण तथा स्रोत साधन संरक्षण समितिका अध्यक्ष जियाओ चेङले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित सभामुख महराको कार्यकक्ष सिंहदबारमा सोमबार दिउँसो अध्यक्ष चेङ नेतृत्वको संसदीय समितिको प्रतिनिधि मण्डलले सभामुखसँग शिष्टाचार भेटवार्ता गरेको हो। भेटका अवसरमा सभामुख महराले नेपाल पर्यावरणीय हिसाबले निकै सम्पन्न र सुन्दर मुलुक भएको चर्चा गर्दै नेपालले प्राकृतिक स्रोत साधनको समुचित प्रयोग तथा वातावरण संरक्षण सम्बर्धनमा विशेष ध्यान दिएको बताएका थिए। सभामुख महराले नेपाल भौगोलिक रूपमा सानो भए पनि वन जंगल, हिमाल, पहाड, समथर मैदान, नदीनाला र तालतलैया लगायतका विविध प्राकृतिक सम्पदाले धनी भएको बताएका थिए। नेपालमा जयवायू परिवर्तनको असर तथा पर्यावरण संरक्षणमा भइरहेका प्रयासहरूका बारेमा चर्चा गर्दै सभामुख महराले वातावरण संरक्षणका लागि चीनको अनुभव र प्रयोग नेपालले सिक्न इच्छुक रहेको बताएका थिए। नेपाल र चीनबीचको सम्बन्ध कूटनीतिक मात्र नभई जनस्तरसम्म प्रगाढ रहेको चर्चा गर्दै सभामुख महराले आगामी दिनमा आपसी सहयोग र सहकार्य थप घनिष्ट हुने विश्वास व्यक्त गरेका थिए। संघीय संसदको तर्फबाट आफूहरूले नेपाल–चीन संसदीय मैत्री समूह गठन गरिसकेको जानकारी दिँदै सभामुख महराले संसदीय मैत्री समूहले दुई देशको संसदीय तथा राजनीतिक अनुभव आदान प्रदान गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका थिए। भेटका अवसरमा नेपाल भ्रमण टोलीको नेतृत्व गरेका चिनियाँ राष्ट्रिय जनकंग्रेसको वातावरण तथा स्रोत साधन संरक्षण समितिका अध्यक्ष जियाओ चेङले आफू नेपाल आउन पाउँदा निकै खुसी लागेको बताएका थिए। नेपाल प्राकृतिक तथा पर्यावरणीय दृष्टिकोणले निकै सुन्दर देशको भएको चर्चा गर्दै चेङले यहाँको प्राकृतिक स्रोत साधन तथा वातावरणको संरक्षणका लागि भएका कार्य, कानूनी व्यवस्था तथा अभ्यास आफूहरूले सिक्न इच्छुक रहेको बताएका थिए। चीनले अर्थतन्त्र, राजनीति, संस्कृति, समाज र पर्यावरण गरी ५ वटा क्षेत्रलाई मुख्य विषय बनाएर अघि बढिरहेको भन्दै समितिका अध्यक्ष चेङले पर्यावरण संरक्षणमा विशेष महत्त्व दिइएको जानकारी दिए। चिनियाँ राष्ट्रिय जनकंग्रेसले पनि चीन–नेपाल मैत्री समूह गठन गरिसकेको भन्दै अध्यक्ष चेङले मैत्री समूहले दुई देशबीच सहकार्य र सम्बन्धमा थप निकटता ल्याउने बताए।
