विधेयकहरु तुरुन्तै खारेज गर्न सत्तारुढ दलकै सांसद भट्टराईको माग

६ असार २०७६, शुक्रबार १३:२१
100

काठमाडौं , पूर्वप्रधानमन्त्री तथा सत्तारुढ दल समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले सरकारलाई दम्भ देखाउने काम बन्द गर्न चेतावनी दिनु भएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा समय लिएर बोल्दै भट्टराईले सरकारलाई दुईतिहाइ बहुमतको दम्भ नदेखाउन चेतावनी दिनु भएको हो ।

सरकारका राम्रा र नराम्रा कामका आधारमा जनमत बन्ने भएकाले अहिले पाएको मतादेश दिगो नहुनेतर्फ सचेत बन्न उहाँले आग्रह गर्नु भयो ।

उहाँले सरकारका पछिल्ला कदमले सरकार केन्द्रीकरण तर्फ जान लागेको संकेत दिएको टिप्पणी गर्नु भयो । गुठी विधेयकको विरोधमा राजधानीमा भएको प्रदर्शनलाई सांकेतिक ढंगले बुझेर संविधान विपरीत ल्याइएका मानवअधिकार आयोग, मिडिया काउन्सिल, सुरक्षा परिषद् लगायत विधेयकहरु तुरुन्तै खारेज गर्न उहाँले माग गर्नु भयो ।

उहाँले बजेट विनियोजन लगायतले संघीयताको मर्म बुझ्ने दिशातर्फ सरकार नगएको स्पष्ट भएको बताउनु भयो । उहाँले संघीय सरकारको व्यवहारबाट अहिले प्रदेश सरकारहरु पनि सन्तुष्ठ नदेखिएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण
गराउनु भयो ।