रुकुमका जनता अझै पनि अँध्यारोमा बस्न बाध्य छनः जनार्दन शर्मा

४ असार २०७६, बुधबार १५:५७


कठमाडौं , सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टीका नेता जनार्दन शर्माले रुकुमका लागि छुट्याइएको बजेट प्रधानमन्त्री केपी शर्मा ओली र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको जिल्लामा लैजान माग गर्नु भएको छ । बजेट विनियोजन गर्ने क्रममा मन्त्रालयले नेता र आफूमुखी गरेको भन्दै शर्माले बुधबार बसेको संसद बैठकमा आक्रोश व्यक्त गर्नु भएको हो । भौतिक योजना मन्त्रालयका मन्त्रीजीलाई आग्रह गर्न चाहन्छु यो रकमान्तर गरेर झापा हालियोस्। प्रधानमन्त्रीजीलाई सहयोग गर्न चाहन्छु। झापा मात्रै भन्यो भनेर मन्त्रीजीलाई दुःख लाग्छ भने थोरै जनकपुरमा पनि लगियोस् शर्माले भन्नु भयो । शर्माले बजेटमाथिको छलफल समय खेर फाल्ने मेलो भएको भन्दै असन्तुष्टि पोखनु भएको थियो । उहाँले बजेट निर्माणका क्रममा व्यापक छलफल गर्ने र बजेट पेश गरेको दिन नै पारित गर्ने व्यवस्था गर्नुपर्ने बताउनु भयो । पूर्वमन्त्री शर्माले श्रम तथा रोजगार मन्त्रीका काममा पनि असन्तुष्टि जनाउनु भएको थियो । मुलुकमा नै रोजगारीका अवसर सिर्जना गर्न लाग्नुपर्नेमा मन्त्री विदेशीसँग सम्झौता गरेर नै छाती फुलाइरहेको भन्दै आलोचना गर्नु भयो । शर्माले लोडसेडिङ अन्त्य गरेवापत आफूले सजायँ पाएको भन्दै दुखेसो पोखनु भएको थियो । उहाँले रुकुमका जनता अझै पनि अँध्यारोमा बस्न बाध्य भएको बताउनु भयो । त्यहाँ काम भइरहेका योजनामा कम रकम विनियोजन गरिएको भन्दै उहाँले आक्रोश पोख्नु भएको थियो ।