
काठमाडौं , राष्ट्रिय जनता पार्टीले चौथो मधेस आन्दोलनका लागि बाध्य नपार्न सरकारलाई चेतावनी दिएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्णले संविधान संशोधन, लाल आयोग प्रतिवेदन सार्वजनिक, लोकसेवा आयोगको विज्ञापन रद्द लगायतका माग गर्दे आएपनि सरकारले नसुनेको भन्दै चौथो मधेस आन्दोलनका लागि बाध्य नपार्न सरकारलाई चेतावनी दिनु भएको हो । सरकारले रोष्ट्रम घेराउ गरेपछि मात्रै बोल्ने असंसदीय पद्धति बसाएको आरोप उहाँले लगाउनु भयो ।
उहाँले संविधान विपरित लोकसेवा आयोगको विज्ञापन निकालेर सरकारले मधेशी समुदायमाथि फेरि तरबार चलाउने काम गरेको आरोप लगाउनु भयो । सरकारका मन्त्रीले संसदीय समितिको निर्देशन नमानेर समितिको धज्जी उडाउने काम गरेको भन्दै उहाँले संसदीय मर्यादा कायम गराउने तर्फ सभामुखको गम्भीर ध्यानाकर्षण गराउनु भयो । उहाँले संविधानले गरेको समानुपातिक समावेशी व्यवस्थाको कार्यान्वयन नगरेर सरकारले ‘चौथो मधेस आन्दोलन निम्त्याएको हो ? भनी प्रश्न गर्नु भयो ।
