
काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले नेवा राज्य दिन्छु भन्नेहरूले नेवाहरूको गुठी खोस्न लागेको बताउनु भएको छ । उहाँले गुठी नेपाली मौलिकता भएकाले त्यसमाथि प्रहार हुन नहुने बताउनु भयो । प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद लिङ्देनले गुठी परम्परा किराँत कालबाट सुरु भएर लिच्छवी कालमा अझै परिस्कृत मौलिक संस्कृति भएको बताउँदै त्यसमाथि प्रहार गर्न नहुने बताउनु भएको हो । सांसद लिङ्देनले गुठीमाथिको हस्तक्षेप केवल गुठीयारहरूमाथि मात्रै नभई सनातन परम्परामाथिकै आक्रमण भएको बताउनु भयो । उहाँले जंगल र सडकमा भएको बेला नेवारलाई ‘नेवा राज्य’ नै दिन्छु भन्नेहरूले अहिले सत्तामा पुगेर नेवारहरूको गुठी नै खोसिदिन लागेको आरोप पनि लगाउनु भयो ।
