
पाल्पा , निस्दी गाउँपालिकाका जङ्गलबाट ल्याइएको च्याउको तरकारी पकाएर खाएर बिरामी परेकामध्ये दुई जनाको ज्यान गएको छ। जङ्गली च्याउ पकाएर तरकारी खाएका निस्दी – ३ का ११ जना बिरामीमध्ये नौ वर्षका निर्मलासिं ठकुरीको शनिबार तथा आज चारवर्षीय विष्णुसिं ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
बिरामीमध्ये अन्य नौ जनालाई थप उपचारका लागि भरतपुर चितवन सिफारिश गरिएको छ। नवलपरासीको मध्यविन्दु अस्पतालमा उपचार भइरहेका नौ जनाको मनकामना अस्पताल तथा पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिनु भयो ।
