हिन्दूराष्ट्र पुनर्स्थापनाको लागि छिट्टै सडकमा आउँछौं, विदेशीको सहयोग आवश्यक छैनः जबरा

२२ जेष्ठ २०७६, बुधबार १४:४४

काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त का अध्यक्ष पशुपति शमशेर जबराले नेपाललाई हिन्दूराष्ट्र बनाउनको लागि छिट्टै सशक्त सडक संघर्षमा उत्रिने घोषणा गर्नु भएको छ ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष राणाले आफूहरुले हिन्दूराष्ट्र बनाउने बाचा गरिसकेकोले यसको लागि सम्पूर्ण शक्तिहरु सशक्त सडक संघर्षमा उत्रिने बताउनु भएको हो । उहाँले भन्नु भयो , नेपाललाई विदेशीको ईशारामा दुई÷चार जना नेताले धर्मनिरपेक्षता बनाए । हाम्रो पार्टी यसको विरुद्धमा छ । अब सम्पूर्ण शक्ति एक भएर धर्मनिरपेक्षतालाई उल्टाउँछौं ।’

काठमाडौंमा आयोजित साक्षात्कारमा बोल्दै उहाँले नेपालमा ८१ प्रतिशत हिन्दू र ९४ प्रतिशत ॐकार परिवार रहेकोले अब सबै एकीकृत भई हिन्दूराष्ट्र बनाउन लाग्नुपर्नेमा जोड दिनु भयो । उहाँले नेपाललाई हिन्दूराष्ट्र बनाउनको लागि विदेशी सहयोग नचाहिनेपनि स्पष्ट पार्नु भयो । उहाँले भन्नु भयो , ‘नेपाललाई हिन्दूराष्ट्र बनाउनको लागि हामीलाई अन्तको सहयोग चाहिँदैन् । हामीसँग भएको संख्या नै काफी छ।’

अध्यक्ष राणाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस यतिवेला ढुलमुल भएर बसिरहेको पनि आरोप लगाउनु भयो । उहाँले भन्नु भयो , ‘कांग्रेसले प्रमुख विपक्षीको भूमिका खेल्नै सकेको छैन् । अब कांग्रेसले प्रष्ट रुपमा विरोधी शक्तिको नेतृत्व लिनुपर्छ ।’ राणाले वर्तमान ओली सरकार यही रुपमा अघि बढे उपयुक्त छैन भन्ने कुरामा कांग्रेस प्रष्ट हुनुपर्नेमा जोड दिनु भयो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहणमा विम्स्टेक राष्ट्रका प्रमुखहरुलाई बोलाईएको र नेपालका प्रधानमन्त्री ओलीपनि सहभागी भएको उल्लेख गर्दै मोदी र ओलीबीच के के कुराकानी भयो भन्ने कुरा आफूलाई थाहा नभएको उहाँको भनाई छ । राणाले नेपाल–भारतबीचको सम्बन्ध राम्रो हुनुपर्नेमा पनि जोड दिनु भयो ।

आफ्नो पार्टी र कमल थापाले नेतृत्व गरेको राप्रपाबीच एकताको सम्भावना रहेको पनि बताउनु भयो । उहाँले भन्नु भयो , राय मिल्ने शक्तिसँग एकता हुन्छ ।’ अध्यक्ष राणाले वर्तमान प्रधानमन्त्री ओलीले राजनीतिक रुपमा बहुदलीय व्यवस्था यता अहिलेसम्मकै ठूलो उपलब्धि हाँसिल गरेको पनि बताउनु भयो ।

शक्तिशाली सरकार गठन भएको एक वर्षभन्दा बढि समय व्यतित भइसक्दापनि अहिलेसम्म जनताले ठोस उपलब्धि प्राप्त गर्न नसकेको उहाँको आरोप छ ।
प्रधानमन्त्री ओलीले प्राप्त म्याण्डेटअनुसार काम गर्न नसकेको उहाँको अर्को गम्भिर आरोप छ । उहाँले भन्नु भयो , जनताले उहाँलाई मनपरी गर्नको लागि बहुमत दिएको होईन । बरु, राष्ट्र बनाउनको लागि दिएको हो । त्यो कुरा उहाँले बुझ्नुपर्छ । अहिले लामो अवधि भैसक्यो उहाँले शासन गर्नुभएको, तर मुलुक फेरवदल गर्न केही पनि गर्न सक्नुभएन ।’

मुलुकमा व्यापक भ्रष्टाचार रहेको सुनाउँदै सरकारले यसप्रति पनि चासो नदेखाएको उहाँको आरोप छ । राणाले थप्नु भयो ,बुढीगण्डकी, मेलम्चीजस्ता आयोजनामा पनि भ्रष्टाचार भएको छ । हरेक कुरामा भ्रष्टाचारको दुर्गन्ध छ । तर, प्रधानमन्त्रीजीले प्राप्त गरेको म्याण्डेटअनुसार आफ्नो ईमानदारिता देखाउन सक्नुभएन ।’

सरकारको विरोधी शक्तिहरु अब एकीकृत भएर सरकारले गरेका हरेक बेईमानी र गल्तीहरुको विरुद्धमा अब सडकमा उत्रिनुपर्ने पनि राणाले आवश्यकत्ता औंल्याउनु भयो । बुढीगण्डकीजस्तो ठूलो परियोजनामा बिना प्रतिष्पर्धा ठेक्का दिनु गलत भएको उहाँको टिप्पणी छ ।

हिन्दूराष्ट्र स्थापनाको लागि गरिने सडक संघर्ष र सरकारको विरुद्धमा गरिने संघर्षका कार्यक्रम दुवै अलग–अलग विषय भएको पनि उहाँको भनाई छ । हिन्दूराष्ट्र पूर्नस्थापनको लागि सकेसम्म छिट्टै सडकमा आउने पनि उहाँले बताउनु भयो ।

तपाईहरु मुलुकमा राजसंस्था फर्काउने पक्षमा हुनुहुन्छ, त्यसका लागि कसरी अघि बढ्नुहुन्छ भन्ने पत्रकारको प्रश्नमा उहाँले भन्नु भयो , ‘यो मुलुकमा नयाँ संविधान बनाउने प्रमुख चार शक्तिमा हामी पनि एक थियौं । संविधान जारी गर्दा हामीले यो एजेण्डामा त्यति ध्यान दिएनौं । हामी बढि हिन्दूराष्ट्रको एजेण्डामा केन्द्रित भयौं ।’

राणाले राष्ट्रप्रमुखको भूमिका प्रजातन्त्र र गणतन्त्र अनुकुल चल्न नसकेको खरो टिप्पणी गर्नु भयो । उहाँले भन्नु भयो , ‘अरवौंको खर्च गरेर राष्ट्रपतिको लागि हेलिकप्टरको सवारी तय गरिँदैछ । मेरो काका, जिजुकाकाले दिएको जग्गाले नपुगेर थप जमिन जोड्न कुरा भैरहेको छ । राष्ट्रपतिको यो किसिमको सोख प्रिजेन्ट गर्न सकिँदैन् ।’