
काठमाडौं, नेपाल चलचित्र कलाकार संघको नेतृत्वका लागि सरिता लामिछानेले दाबी गरेकी छिन्। संघको नेतृत्वमा महिला पुर्याउन वरिष्ठ कलाकारहरु समेत सक्रिय भएका छन्।
नेपाली फिल्मका चर्चित अभिनेत्रीहरु गौरी मल्ल, करिश्मा मानन्धर र रेखा थापा खुलेरै सरितालाई जिताउने अभियानमा लागेका छन्। उनीहरु मंगलबार लामिछानेको पत्रकार सम्मेलनमै उपस्थित भएर समर्थन जनाएका हुन्।
कलाकार संघको अध्यक्ष पदमा लामिछाने र कलाकार रविन्द्र खड्काले उम्मेदवारी दिएका छन् । सरिताले मंगलबार पत्रकार सम्मेलन गर्दै आफ्नो प्रतिबद्धता पत्र समेत सार्वजनिक गरिन्।
उनले कलाकार संघको भवन निर्माणमा जोड दिने प्रतिबद्धता गरेकी छिन् । साथै कलाकारको पेन्सनका लागि पहल गर्ने समेत बताएकी छिन्।
