लोकसेवा आयोगको विज्ञापनप्रति राष्ट्रिय जनता पार्टीको संसदमै आपत्ति

१९ जेष्ठ २०७६, आईतवार १४:२४

काठमाडौं , लोकसेवा आयोगको विज्ञापनप्रति राष्ट्रिय जनता पार्टीले संसदमै आपत्ति जनाएको छ । राजपाका सांसद लक्ष्मणलाल कर्णले प्रतिनिधिसभाको आइतबारको बैठकमा आयोगको विज्ञापन संविधान विपरीत भएको बताउनुभयो ।

‘संविधानले गरेको व्यवस्था विपरीत लोकसेवा आयोगले प्रदेशको अधिकार समेत मिच्ने गरी कर्मचारी परिपूर्तिका लागि विज्ञापन आव्हान गरेको छ’ बैठकमा उहाँले भन्नुभयो, ‘ न्यायपरिषद्ले न्याय परिषद् ऐनको वास्ता गर्दैन, अहिले सम्म निकालेको कही समानुपातिक समावेशी छैन । मन्त्रिपरिषद्ले राजदूतहरुको नियुक्ति गर्छ समानुपातिक समावेशी हुदैन । संवैधानिक परिषद्ले नियुक्ति गर्छ विभिन्न आयोगको समानुपातिक समावेशी हुदैन अहिले त ९ हजार भन्दा बढी सिट लोकसेवा आयोगले निकालिरहेको छ । लोकसेवा आयोगले पनि नमान्ने यो संविधानलाई अब यो संविधान कसले मान्ने ? आयोगले नमान्ने । सरकारले नमान्ने । न्यायपरिषद्ले पनि नमान्ने हो भने कसले मान्ने यो संविधान ? यदि सरकारले नै मान्दैन, संवैधानिक आयोगले नै संविधान मान्दैन भने जनताले मात्रै मान्ने यो संविधान जनतालाई जबरजस्ती मनाउन मात्रै बनाएको हो यो संविधान ?

सांसद कर्णले लोकसेवा आयोगले निकालेको विज्ञापनको विरोध भइरहदा सच्याउनुको सट्टा आफूले गरेको काम ठिक भनेको भन्दै आक्रोश पोख्नुभयो ।