कम्युनिष्ट आन्दोलनलाई अहिलेको उचाइमा ल्याउनु मदन¬आश्रितको योगदान होः गृहमन्त्री थापा

३ जेष्ठ २०७६, शुक्रबार १४:११

काठमाडौं , गृहमन्त्री रामबहादुर थापाले नेपालमा कम्युनिष्ट आन्दोलनलाई अहिलेको उचाइमा ल्याउन नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको महत्वपूर्ण योगदान रहेको बताउनु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थापना दिवस तथा मदन¬आश्रित स्मृति दिवसका अवसरमा मदन भण्डारी स्मृति वाटिका संरक्षण समितिद्वारा आज काठमाडौँको कोटेश्वरस्थित सुविधानगरमा आयोजित कार्यक्रममा बोल्दै थापाले कम्युनिष्ट आन्दोलनमा उहाँहरुको वैचारिक योगदान अतुलनीय रहेको उल्लेख गर्नु भयो ।

गृहमन्त्री थापाले कम्युनिष्ट आन्दोलनका शत्रुहरुले उहाँहरुको सफलता रोक्न षड्यन्त्र गरेको आरोप लगाउनु भयो ।

मदन भण्डारीकै योगदानका कारण अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भई कम्युनिष्टहरुको नेतृत्वमा स्थिर सरकार निर्माण भएको बताउँदै उहाँले नागरिकका आवश्यकता पूरा गर्न वर्तमान सरकार लागिपरेको धारणा व्यक्त गर्नु भयो । आज मदन आश्रितको सम्झनामा देशका विभिन्न क्षेत्रमा विभिन्न कार्यक्रम गरिएको छ ।