बीमा कम्पनीहरुको संख्यात्मक वृद्धि भएपनि गुणात्मक वृद्धि हुन सकेनः अर्थमन्त्री खतिवडा

२ जेष्ठ २०७६, बिहीबार १४:४६

काठमाडौं , जोखिम न्यूनीकरणका लागि जीवन तथा निर्जीवन बीमा गर्ने कम्पनीहरु आफैं असुरक्षित हुने गरेको अर्थमन्त्री डा युवराज खतिवडाले बताउनु भएको छ । बुधबार राजधानीमा आयोजित बिमा संस्थानको ५१ औँ वार्षिकोत्सवका अवसरमा डा खतिवडाले यस्तो धारण व्यक्त गर्नु भएको हो ।

पछिल्लो समय बीमा कम्पनीहरुको संख्यात्मक वृद्धि भएपनि गुणात्मक वृद्धि हुन नसकेको जिकिर गर्दै डा खतिवडाले अब कम्पनीहरुले दीर्घकालीन योजनासहित टिक्नेगरी अघि बढ्नु पर्ने बताउनु भयो ।

उहाँले आफूलाई केके र कुनकुन खालको जोखिमको सुरक्षण चाहिएको अब बिमित पनि स्पष्ट हुनुपर्ने खतिवडाले बताउनु भयो । अन्यथा जोखिम सुरक्षणका लागि बीमा गरिएपनि उल्टै असुरक्षित बन्ने खतरा बढ्नसक्ने तर्फ उहाँले सचेत गराउनु भयो ।

खुल्ला बजार र खुल्ला अर्थतन्त्रकै कारण नीजि कम्पनीहरुले सहजै लाईसेन्स पाएको तर कारोबार भने प्रभावकारी रुपमा गर्न नसकेको अर्थमन्त्री खतिवडाको भनाई छ ।