खुटिया–दिपायल –मानसरोवरसम्म सडकलाई ५ अर्ब बजेट विनियोजन गर्न सांसद प्रेम आलेको माग

३० बैशाख २०७६, सोमबार १५:३५

काठमाडौं, सांसद प्रेमबहादुर आलेले अर्थमन्त्रीले संसदमा पेस गरेको आव २०७६÷७७ को विनियोजन विधेयकलाई आफूले पूर्ण समर्थन गर्ने उल्लेख गर्दै यस वर्षको बजेटमा खुटिया दीपायल सायल हुँदै कैलाश मानसरोवरसम्म जाने सडकलाई रु ५ अर्ब बजेट निकासा गर्न माग गर्नु भएको छ ।
संसदमा आफ्नो धारणा राख्दै उहाँले विधेयकमा समेटिएका सिद्धान्त तथा प्राथमिकताका विषयहरु हेर्दा यसमा वालकदेखि बृद्धासम्मका सरोकारका कुराहरु रहेको उल्लेख गर्दै भौतिक पूर्वाधार विकास सडक, सिंचाई, खानेपानी जस्ता कुरालाई प्राथमिकतामा राखेर यस सरकारले विगतका भन्दा फरक र अग्रगामी किसिमको बजेट ल्याउने तयारी गरेको बताउनु भयो । पूर्ववर्ती सरकारले निर्वाचनमा शर्मनाक पराजय भएपछि समेत पछि आउने सरकारलाई अप्ठयारो पार्ने नियतले राज्यको ढुकुटी तहस नहस पारेकाले गत वर्षको बजेट बनाउन अर्थमन्त्रीलाई धेरै गाह्रो भएको तर्क गर्दै उहाँले भन्नु भयो , ‘राज्यको ढुकुटी रित्याएर नेकपाको सरकारलाई अप्ठयारो पार्ने कुत्सित मनसाय राखेर कतिपय अनावश्यक काममा जथाभावी रकम वितरण गरेको भए पनि अर्थमन्त्री अनुभवी र दक्ष भएकाले उहाँले अर्थतन्त्रलाई मजबुत बनाएर राज्यको ढुकुटी पुनः बलियो बनाउनु भएकोमा म अर्थमन्त्रीज्यूलाई धन्यवाद दिन चाहन्छु । ’
यसपालि १६ खर्ब बराबरको विनियोजन बजेट आउने तयारी रहे पनि २० खर्ब हाराहारीमा विनियोजन बजेट ल्याउँदा राम्रो हुने उहाँले बताउनु भयो । अर्थतन्त्र बलियो स्थितिमा भएको र विकास निर्माणका ठुला परियोजनाहरु गर्नुपर्ने भएकाले बजेट ठुलै आकारको ल्याउनु उपयुक्त हुने उहाँले उल्लेख गर्नु भयो ।
सरकारले आगामी सन् २०२० लाई भिजन २०–२० को रुपमा मनाउन लागेको उल्लेख गर्दै यसमा २० लाख पर्यटकलाई नेपाल भित्र्याउने लक्ष्य राम्रो भएको बताउनु भयो । उहाँले भन्नु भयो , ‘अर्थमन्त्रीज्यु उत्तर र दक्षिण जोड्ने सडकमार्ग खुटिया–दीपायल–सायल हुँदै तिब्बतको मानसरोवरसम्म जाने २ सय ९० किलोमिटर सडकमा ५ अर्ब रकम विनियोजन गर्नुहोस् आगामी सन् २०२४ भित्र नेपालमा १० करोड पर्यटक आउछन् । ’
यस सडक निर्माण गर्न सकेमा समग्र सुदूर पश्चिमकै आर्थिक स्थितिमा उल्लेख्य सुधार हुने दावी गर्दै बजेटमा यो विषय समेटिनेमा आफू विश्वस्त रहेको बताउनु भयो । उहाँले भन्नु भयो , ‘यो योजना भनेको मेरो राजनीतिक जीवनमा विशेष अर्थ राख्ने योजना हो यसलाई अर्थमन्त्रीज्यूले पक्कै पनि गम्भीर रुपमा मनन गर्नु हुनेछ । ’