केही वर्षभित्र चीनको ल्हासाबाट काठमाडौंमा रेल आउने प्रचण्डको दावी

३० बैशाख २०७६, सोमबार १५:२०

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही वर्षभित्र चीनको ल्हासाबाट काठमाडौंमा रेल आउने दावी गर्नु भएको छ ।

अध्यक्ष प्रचण्डले चीनबाट नेपालमा रेल आउने कुरा अब सपनाको विषय नरहेको पनि स्पष्ट पार्नु भयो । विभूति सीता जन्मजयन्तीको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले हामी जीवित रहँदारहँदै काठमाडौंमा रेल ल्याउने कामको सुरुवात भइसकेको बताउनु भयो । उहाँले त्यसलाई लुम्बिनीसम्म लैजाने योजना तय गरिएको पनि बताउनु भयो । उहाँले चीनको ल्हासा हुँदै काठमाडौ र काठमाडौंबाट लुम्बिनीसम्म रेल सञ्चालन गर्न सके त्यो मुलुकको अर्थतन्त्र र पर्यटन विकासको क्षेत्रमा कोशेढुंगा सावित हुने पनि स्पष्ट पार्नु भयो ।

अध्यक्ष प्रचण्डले लुम्विनी–पशुपति–जनकपुरलाई जोडने एउटा सर्किट देशभित्रै बन्न जरुरी रहेको पनि बताउनु भयो । उहाँले नेपाल र भारत दुवै मुलुकको शक्तिपीठहरुलाई मिलाएर एउटै शक्तिपीठ सर्किट बनाएर दुवै मुलुकको धार्मिक पर्यटनको क्षेत्रमा क्रान्ति ल्याउने कामलाई अघि बढाइएको पनि बताउनु भयो ।

‘दुवै मुलुकका जनताको आर्थिक जीवनमा गुणात्मक ढंगले समृद्धि ल्याउने गरी दुवै देशका शक्ति पीठहरुलाई जोडेर एउटै शक्ति पीठ सर्किट बनाउने योजनाका साथ दुवै देशका विद्धानहरुलाई सम्भाव्यता अध्ययन गर्ने कामको जिम्मेवारी दिइएको छ,’ अध्यक्ष प्रचण्डले भन्नु भयो , ‘यसलाई सम्भव बनाउन सके नेपालको धार्मिक पर्यटन क्षेत्रको विकासमा एउटा क्रान्ति नै आउने र दुवै मुलुकका जनताको आर्थिक जीवनमा गुणात्मक ढंगले समृद्धि छाउनेछ ।’