राजनीतिक पूर्वाग्रहबाट माथि उठ्न कांग्रेस नेता रिजालको आग्रह

३० बैशाख २०७६, सोमबार १४:३९

काठमाडौं , नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले राजनीतिक पूर्वाग्रहबाट माथि उठ्न सरकारलाई आग्रह गर्नु भएको छ । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सरकारको आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सहभागी हुँदै उहाँले बजेट तर्जुमा गर्दा राजनीतिक पूर्वाग्रहबाट माथि उठेर सिद्धान्त र प्राथमिकता निर्धारण गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको हो ।

बामपक्षीय आधारमा आउने बजेटले समग्ररुपमा मुलुकको विकास गर्न नसक्ने भन्दै उहाँले संशोधन गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराउनु भयो । विगतमा जस्तै अहिले पनि राजनीति र दलिय भावनाले सिद्धान्त र प्राथमिकतालाई धकेल्ने काम भएको टिप्पणी उहाँले गर्नु भयो । विगतमा योजना गए पनि बजेट नपठाउने काम भएको भन्दै उहाँले राजनीतिबाट माथि उठेर सिद्धान्त र प्राथमिकता निर्धारण नभएसम्म विकास र सम्मृद्धि सम्भव नभएको तर्क गर्नु भयो ।