हिजोको जस्तै त्याग, तपस्या र बलिदान गर्ने संकल्न नगर्ने हो भने खतराको घन्टी बज्न सक्छः प्रचण्ड

२४ बैशाख २०७६, मंगलवार १४:०६

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलहरुले परम्परागत संसदीय प्रणालीको अभ्यास गर्ने र एक अर्कालाई निषेध गर्दै लड्ने बेला भइनसकेको बताउनु भएको छ ।

आन्दोलनबाट प्राप्त उपलब्धीलाई एक दशकभन्दा बढी रक्षा गर्न नसकेको विगत स्मरण गर्दै उहाँले फेरि पनि खतरा आउन सक्ने बताउनु भयो ।

राजनीतिक नेतृत्व आन्दोलन गर्न, परिर्वतनका निम्ति संघर्ष र बलिदान गर्न र त्याग तथा तपस्याका कीर्तिमान बनाउन सक्षम भएको तर, प्राप्त उपलब्धीलाई संस्थागत गर्ने, त्यसमार्फत जनतालाई सन्तुष्ट बनाउने र परिर्वतन अनुकुल राज्यका संरचनाहरुलाई प्रशिक्षित गर्ने, रुपान्तरण गर्न राजनीतिक नेतृत्व चुकेको उहाँको विश्लेषण छ ।


संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने प्रक्रियामा यो एक वर्षका अनुभवलाई हेर्दा थुपै जटिलता देखिएको उहाँले बताउनु भयो ।

जसरी विगतका परिर्वतनहरु रक्षा गर्न सकेनौं, अब त्यो स्थिति हुने छैन भन्ने विश्वास दिलाउन दलहरु एकजुट हुनुपर्ने उहाँले
बताउनु भयो । हिजोको जस्तै त्याग, तपस्या र बलिदान गर्ने संकल्न नगर्ने हो भने खतराको घन्टी बज्न सक्छ । आज नभए भोलि, भोलि नभए पर्सि खतरा आउन सक्छ ।’

दलहरुको एकतामा जोड दिनु भएका उहाँले अब एकअर्कासँग जति सकिन्छ निषेधात्मक रुपमा लडे हुन्छ भन्ने समय आइनसकेको बताउनु भयो । सरकारको नीति तथा कार्यक्रम ठूलो आकांक्षासहित आएको उहाँले बताउनु भयो ।