
काठमाडौं , नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘मे १ तारिख’ अर्थात् श्रमिक दिवसका अवसरमा सम्पूर्ण श्रमिकमा शुभकामना व्यक्त गर्नु भएको छ ।
पूर्वप्रधानमन्त्री देउवाले आज शुभकामना सन्देशमार्फत यो दिवस श्रमिक वर्गले लामो सङ्घर्षपछि आफ्नो अधिकार प्राप्त गरेको ऐतिहासिक दिन भएको उल्लेख गर्दै नेपालमा २००३ सालमा कांग्रेसको नेतृत्वमा विराटनगरमा मजदूरहरूको पहिलो ऐतिहासिक आन्दोलन भएको बताउनु भयो ।
तत्कालीन सरकारले त्यो लामो आन्दोलनलाई निर्ममतापूर्वक दबाउने नीति अख्तियार गरेर जननायक बिपी कोइरालालगायत धेरै नेतालाई पक्राउ गरेको उल्लेख गर्दै सभापति देउवाले नेपालमा प्रजातन्त्रको प्रस्थानविन्दु त्यही मजदुर आन्दोलन भएको
बताउनु भएको छ ।
त्यसैले कांग्रेस र मजदूर सधैं एक अर्कामा आबद्ध भएर एक अर्काका अनन्य सहयोगी भएर रहिआएको उहाँले उल्लेख गर्नु भएको छ ।
नेपालका श्रमिकले अनेक समस्या व्यहोर्नु परेको उल्लेख गर्दै सभापति देउवाले श्रमिकका समस्या समाधान गरी उनीहरूका हक र हितको सम्वद्र्धन गर्न काँग्रेस सदैव सचेत भएर लागिरहेको बताउनु भएको छ ।
उहाँले लोकतन्त्रमा मात्र श्रमको सम्मान हुने हुँदा लोकतन्त्रको रक्षा र सम्वद्र्धनमा सम्पूर्ण श्रमिक सजग र जिम्मेवार रहने विश्वास व्यक्त गर्नु भएको छ ।
