संघीय संसदको चौथो अधिवेशन आजबाट शुरु हुँदै

१६ बैशाख २०७६, सोमबार ११:१७

काठमाडौं, संघीय संसदको चौथो अधिवेशन आजबाट शुरु हुँदैछ । मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दिउँसो ४ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन् ।

अधिवेशनमा सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस, बजेट प्रस्तुत तथा संविधान कार्यान्वयनका लागि कानून निर्माणमा केन्द्रित हुने छ ।
तेस्रो अधिवेशन अन्त्य भएको एक महिनापछि चौथो अधिवेशन आह्वान गरिएको हो । चालू अधिवेशनमा सरकारका वार्षिक कार्यक्रम र कानून निर्माणमा केन्द्रीत हुने प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले जानकारी दिए ।

अधिवेशनमा सरकारको कार्यक्रम नै प्रमुख रहेनछ । नीति तथा कार्यक्रमका लागि वैशाख २० गतेको समय तय भइसकेको छ । यसपटक नीति तथा कार्यक्रमपछि प्री बजेट छलफल हुनेछ । यसअघि प्री बजेट छलफलपछि मात्र नीीत कार्यक्रम पेस हुने गरेको थियो ।

अधिवेशनको पहिलो दिन दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभामा राष्ट्रपति विद्यादेवी भण्डारीको संसद् अधिवेशन आह्वानको सूचना पढेर सुनाइनेछ।