पत्रकारहरुलाई पक्राउ गर्ने काम आपत्तिजनकः सभापति देउवा

१५ बैशाख २०७६, आईतवार १४:०१

काठमाडौं , प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्रकारहरुलाई पक्राउ गर्ने काम भइरहेको उल्लेख गर्दै सरकारको चर्को आलोचना गर्नु भएको छ । पूर्व प्रधानमन्त्रीसमेत रहनु भएका सभापति देउवाले पत्रकाहरुलाई अदालत परिसरभित्रै गएर पक्राउ गर्ने काम सरकारले गरिरहेकोमा आपत्ति जनाउनु भएको हो ।
आइतबार नेपाल पत्रकार महासंघको नेतृत्वले आफ्नै निवास बूढानिलकण्ठमा पुगेर बुझाएको ज्ञापन पत्र बुझ्दै उहाँले अदालत परिसर भित्र गएर पत्रकारहरुलाई पक्राउ गर्नै नमिल्ने पनि स्पष्ट पार्नु भयो । सभापति देउवाले आफ्नो पार्टी प्रेस र अभिव्यक्ति स्वतन्त्रको पक्षमा सदैव उभिएको दावी गर्नु भयो । उहाँले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफ्नो पार्टी लडिरहने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।
सभापति देउवाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा नेपाल पत्रकार महासंघले सुरु गरेको आन्दोलनमा आफ्नो पार्टीको साथ रहने पनि बताउनु भयो । महासंघका अध्यक्ष गोविन्द आचार्य नेतृत्वको टोलीले सभापति देउवलाई बुझाएको ज्ञापन पत्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा हुने गरी कानुन, नीति, नियम तय गर्न सरकारको ध्यानाकर्षण गराउन आग्रह गरिएको छ ।