ढोरपाटनबाट उडेको हेलिकप्टर बलेवामा आकस्मिक अवतरण

३ बैशाख २०७६, मंगलवार २०:२९

पर्वत – नेपालको एक मात्र वन्यजन्तु शिकार आरक्ष बागलुङको ढोरपाटनबाट पोखराका लागि उडेको हेलिकप्टर मौसम खराबीका कारण बलेवामा आकस्मिक अवतरण गरिएको छ ।

मंगलबार साँझ ६ बजे ढोरपाटनबाट उडेको हेलिकप्टर मौसम अनुकुल नभएपछि बागलुङको बलेवामा अवतरण गरेको हो ।

प्रभु हेलिकप्टरको नाइन एन एजेएन कल साइन भएको हेलिकप्टरमा एक जना विदेशी नागरिकसहित दुई जना शिकार आरक्षकै कर्मचारी रहेका थिए । शिकार आरक्ष अवलोकनका लागि आएको र मौसम अनुकुल नभएका कारण बलेवामा अवतरण गरिएको आरक्षका कर्मचारी आशिष थापाले जानकारी दिनुभयो । बलेवामा सुरक्षित अवतरण पश्चात् भोलि बुधबार बिहान गन्तव्यमा जाने थापाले बताउनुभयो ।  

लगातार वर्षा र हावाहुरीका कारण पोखरालगायतका क्षेत्रमा मेघ गर्जनसहित भिषण वर्षा भइरहेको छ । वर्षाका कारण सडक यात्रा कष्टदायक त छ नै हवाई यात्रा समेत प्रभावित बनेको छ ।