काठमाडौं , सरकारले विदेशी लगानी भित्र्याउन आयोजना गरेको लगानी सम्मेलन हालै सम्पन्न भएको छ। चैत १५ र १६ गरी दुई दिनसम्म आयोजित लगानी सम्मेलन समापन भए पनि त्यसमा सहभागी मन्त्रीहरुको प्रस्तुति अहिले पनि चर्चामा छन्। लगानी सम्मेलनको सत्रमा सहभागी भएर आफ्ना भनाइ राख्ने क्रममा उद्योग तथा वाणिज्य मन्त्री मात्रिका यादव, ऊर्जामन्त्री वर्षमान पुन तथा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुविर महासेठको प्रस्तुतिमा भाषागत कमजोरी प्रस्टै देखियो।
लगानी सम्मेलनको एक सत्रको छलफल कार्यक्रममा उद्योग मन्त्री यादवले लिखित विचारलाई निकै कठिनाइका साथ बोलिरहेको सुन्न सकिन्छ। अंग्रेजी उच्चारणमा समेत असहज मानिरहेका यादवले बोल्ने क्रममा एक ठाउँमा भनेका छन्, ‘इन पास्ट यु गो इधर एन्ड इधर फर वन जब, बट नाउ यु मस्ट नट गो इधर एन्ड इधर।’ उनले अटोमेसनका बारेमा सबैलाई थाहा भएको भन्दै यसको व्याख्या गर्न समय नभएको बताएका छन्। तर उनले भन्न खोजेको समय नभएर आवश्यकता थियो। यादवले बोल्ने क्रममा निकै ठाउँमा गल्तीमात्र गरेका छैनन्, कतिपय अवस्थामा बोल्ने शब्द नपाएर अकमकिएको पनि देख्न सकिन्छ। उनले कार्यक्रममा बोलिरहँदा सहभागीहरु पटकपटक हाँसेको देखिन्थ्यो।
सम्मेलनको एक सत्रको अन्त्यमा बोलेका ऊर्जामन्त्री वर्षमान पुनले पनि लिखित भाषण गर्ने क्रममा असहज महसुस गरेको प्रस्टै बुझ्न सकिन्छ। पुनले अंग्रेजी भाषामा लिखित भनाइ राख्दा पनि कनीकुथी बोलेका छन्। उनले कतिपय शब्दको उच्चारण गलत ढंगले गरेका छन्। सम्मेलनकै सत्रमा बोल्ने क्रममा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री महासेठको प्रस्तुति पनि फितलो देखिएको छ। लिखित भाषण पढे पनि उनको प्रस्तुतिमा उच्चारणका क्रममा कमजोरी देखिन्छ भने उनले बोल्न समेत असहज महसुस गरेको सहजै पत्ता लगाउन सकिन्छ। यो समाचार आजको नागरिक दैनिकमा वसन्त खड्काले लेखनु भएको छ ।