रिपोर्टर्स क्लबको २१औं वार्षिकोत्सवको अवसरमा ऋषि धमलाले पुरस्कारै पुरस्कार बाँडे

१७ चैत्र २०७५, आईतवार १२:४९

काठमाडौं, रिपोर्टर्स क्लबको २१औं वार्षिकोत्सवको अवसरमा ऋषि धमलाले पुरस्कारै पुरस्कार बाँडेका छन । कार्यक्रममा यस वर्षको मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार रिपब्लिका अंग्रेजी दैनिकका प्रधानसम्पादक सुवास घिमिरे र वरिष्ठ पत्रकार हरिप्रसाद जोशीलाई संयुक्त रुपमा प्रदान गरिएको थियो। रिपोर्टर्स क्लबको उक्त पुरस्कारको राशि एक लाख रहेको छ। घिमिरे र जोशीलाई जनही ५० , ५० हजार रुपैयाँ प्रदान गरियो।

यस्तै यो वर्षको वीरेन्द्र साह स्मृति पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका सहायक वरिष्ठ उप–सम्पादक राजेश मिश्रलाई दिइएको छ। पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ। कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार क्रान्तिकारी पत्रकार संघका संस्थापक अध्यक्ष एवम् प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहाललाई प्रदान गरियो।

यसैगरी यस वर्षको सहिद जगतजंग शाह स्मृति पत्रकारिता पुरस्कार पत्रकार डिल्ली बसेलले पाए। रिपोर्टर्स क्लब नेपाल उत्कृष्ट युवा पत्रकारिता पुरस्कारबाट पत्रकार सन्तोष न्यौपाने पुरस्कृत भए।यो वर्षको क्रियाशील युवा पत्रकारिता पुरस्कार भने राजधानी दैनिकका समाचार सम्पादक ध्रुव लम्सालले पाए।क्रियाशील महिला पत्रकारिता पुरस्कारबाट उषाकिरण कँडेल पुरस्कृत भइन्।